जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ, पाइलटको फोन लागिरहेको छ



काठमाडौं / सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए ।

अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन ।

अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘दुई सम्भावित ठाउँ पहिचान भएका छन् । ती ठाउँमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकोप्टरमार्फत खोजी गर्ने तयारी गरिरहेका छौं,’ अध्यक्ष गौचनले भने, ‘पाइलटको फोन लागिरहेको छ । त्यसलाई पनि ट्र्याक भइरहेको छ । मौसममा सुधार आएपछि खोजी कार्य हुन्छ ।’

प्रतिक्रिया दिनुहोस