तेलुगू फिल्ममा आँचलको डेब्यू



काठमाडौँ । अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन् । उनले नेपालमा छायांकन भएको तेलुगू फिल्म ‘हिटम्यान’ मा मुख्य भूमिकामा अभिनय गरेकी हुन् । १५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन भएको फिल्ममा उनले नेपालीमै संवाद बोलेकी छन् । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी प्रस्तुत छन् ।

विष्णु फिल्मका निर्देशक पनि हुन् । उनले अब फिल्मको १० प्रतिशत मात्र छायांकन बाँकी रहेको र त्यसलाई भारतको हैदराबादमा खिच्ने तयारी भएको जानकारी दिए । उनका अनुसार, नेपालमा फिल्मको ५० प्रतिशत छायांकन गरिएको छ । उनले नेपालमा खिचिएको भागमा नेपाली भाषामै संवाद समावेश गरिएको र भारतमा खिचिएको भागमा तेलुगू भाषामा संवाद राखिएको बताए ।

उनले भने( ‘फिल्म नेपाल र भारत दुवै देशमा रिलिज हुनेछ । नेपालमा रिलिजका लागि तेलुगू संवादमा नेपाली सब टाइटल राख्नेछौं भने भारतमा रिलिजका लागि नेपाली संवादको ठाउँमा तेलुगू सब टाइटल राख्नेछौं । ‘हिटम्यान’ को कथा नै नेपाल र भारतसँग जोडिएको छ ।’ फिल्ममा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् ।

पहिलो पटक तेलुगू फिल्ममा अभिनय गरेकी आँचलले भाषा बुझ्न गाह्रो भए पनि दुईवटा क्यामेराले खिचिएकाले बारम्बार एउटै दृश्य नपरेको बताएकी छन् । हैदराबादमा हुने फिल्मको प्रिमियरमा आफू पनि सहभागी हुने उनले जानकारी दिएकी छन् । दीपक अधिकारीले निर्माण गरेको फिल्मलाई वाईएस शेखरले खिचेका हुन् । फिल्मलाई आउँदो मार्चमा रिलिज गर्ने विष्णुको योजना छ ।

प्रतिक्रिया दिनुहोस