सोमबार, ३१ जेठ २०७८

टुइकुनामा माइक्रोबस दुर्घटना : एकको निधन



दुल्लू । कर्णाली राजमार्गअन्तर्गत टुइकुनामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेको प्रहरी चौकी पाल्तडाले जनाएको छ ।

चौकीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको तथा तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ख२४७ नंको माइक्रोबस दुर्घटना भएको हो ।

घाइते १० मध्ये गम्भीरावस्थाका सात जनालाई एम्बुलेन्समार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म उद्धारमा छु, बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालीकोटबाट १५ यात्रु सवार थिए । उद्धार जारी छ ।”

प्रतिक्रिया दिनुहोस