शनिबार, ०९ असोज २०७८

बनेपा दुईमा काग्रेंसका ५ उम्मेदवार, कस्ले मार्ला त वाजी ?



काभ्रेपलाञ्चोक । महाधिवेशनमा होमिएको नेपाली काग्रेंसको वडा अधिवेशन नजिकिएको छ । वडा अधिवेशन नजिकिएसँगै वडा सभापतिका आकाक्षीहरु आ–आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् । यसैबीच बनेपा नगरपालिका वडा नं. दुईमा नेपाली काग्रेंसको वडा सभापतिका लागि ५ जनाको उम्मेदवारी पर्न सक्ने सम्भावना बढेको छ । यही भदौ १८ गते हुने महाधिवेशनका लागि मातृकाप्रसाद घिमिरे, राजकुमार घिमिरे, बालकृष्ण घिमिरे, सोमप्रसाद घिमिरे र गङ्गाप्रसाद घिमिरे(भान्जा)को उम्मेदवारी पर्न लागेको हो ।

वडा सभापतिको अकाक्षी धेरै भएसँगै सभापति कसको भागमा पर्ने हो यसै भन्न सक्ने अवस्था नभएको काग्रेंसीहरु बताउँछन् । बनेपा दुईमा नेपाली काग्रेंसका २ सय २७ क्रियाशील सदस्यहरु छन् । वडा अधिवेशनमा कम्तीमा पनि २ सय मत खस्ने अपेक्षा छ ।

काग्रेंसका क्षत्रिय सभापति विदुर घिमिरे र वडा अध्यक्ष हरिशरण घिमिरे यत्तिखेर आफु पक्षीय नेता एवं स्थानीय शिक्षक राजकुमार घिमिरेलाई सर्वसम्मत बनाउन लागिपरेका छन् । राजकुमारको पक्षमा लबिङ गरिरहँदा नै उमेरले पाका पुरानो वडा नं. ६ का सोमप्रसाद घिमिरेले पनि सभापतिको आकाङ्क्षा गरेसँगै उनीहरूलाई उम्मेदवारी मिलाउन सकस परिरहेको छ । त्यसो त काग्रेंसको वडामा राम्रो पकड राख्ने  शिक्षक सङ्गठनका नेता शम्भु घिमिरेले यस पटक आफ्नो दाजु बालकृष्ण घिमिरेलाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेको बताइन्छ । आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बनाउनका लागि यस पटक जसरी भए पनि सभापति लिने पक्षमा  शम्भुलगायतहरु रहेका छन् ।

उता पार्टीका लागि अहोरात्र आर्थिक, नैतिक र भौतिक लगानी गरेर यस पटक सभापतिका लागि आकाङ्क्षी बनेका मातृकाप्रसाद घिमिरेलाई उचाल्दा उचाल्दै अन्तिम अवस्थामा साथ नदिएपछि उनी आफै जसरी भए पनि सभापति हत्याउन चुनावी मैदानमै उत्रिने तयारी गरिरहेका छन् ।

आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा लड्ने तयारी गरिरहेका मातृका जसरी भए पनि सभापति आफूले पाउनु पर्ने अडानमा छन् । उनी हारजित जे भए पनि चुनावी मैदानमा उत्रने चट्टानी अडानमा रहेको नेपाली काग्रेंसका कार्यकर्ताहरू बताउँछन् । गाउँमा सबै युवासँग लोकप्रिय रहेका मातृका लाई नै सभापति बनाउनु पर्ने  नत्र विद्रोह गर्ने ठुलो तप्का काग्रेंसमा छ । कार्यकर्ता बनाउन गाउँमा सकृय रहने मातृकाको माथिल्लो तहका नेताहरुसँग भने त्यही राम्रो उठबस नभएको बताइन्छ ।

नेपाली काग्रेंसका हरेक बैठकका लागि सुरक्षित स्थल मानिएको शिक्षक राजकुमार घिमिरेको घरमा नै वडा अध्यक्ष हरिशरण घिमिरे र क्षत्रिय सभापति विदुर घिमिरेको धेरै जसो बास  हुने र बर्षैदेखि राजकुमारलाई अबको नेता भनेर उचाल्दाको परिणामले यस पटक राजकुमार पनि गल्ने पक्षमा देखिँदैनन् । उनी जुनसुकै हालतमा पनि सभापति बन्ने धाउनमा छन् । यो पटक सभापति छाडे वडा अध्यक्षको टिकट फुत्कने सम्भावना हुनाले वडा अध्यक्षका अकाक्षीहरु  वडा अधिवेशनबाटै आफूलाई सुरक्षित गर्न खोजिरहेका छन् ।

उता व्यक्तिगतरुपमा पार्टी केन्द्रीय सदस्य शिवहुमगाई, जिल्ला अध्यक्ष मधु आचार्यदेखि पूर्वमन्त्री कञ्चनचन्द्र बादेको प्रिय मानिने वडा सदस्य गङ्गाप्रसाद घिमिरे (भान्जा) पनि सभापतिका बलियो दाबेदार हुन् । उनी आफूलाई सर्वत्र बनाउने गरी चुनावी मैदानमा छन् । सकेसम्म सर्वसम्मतमा उम्मेदवारी बन्ने नत्र निर्वाचनको मैदानमा उत्रिने गरी उनी लागेका छन् ।

क्षेत्रीय सभापति विदुर घिमिरे र वडा अध्यक्ष हरिशरण घिमिरे सकेसम्म राजकुमार घिमिरलाई नै सभापती बनाउने नत्र शोमप्रसादका विषयमा सहमती गराउन कम्मर कसेर लागिपरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस