शनिबार, २९ जेठ २०७८

नेकपा (एमाले) भित्रको अन्तरविरोध र समाधानको सूत्र

अदालतले कमरेडहरुलाई जोसँग बस्न मन थियो उसैलाई अलग गरिदियो, जोसँग बस्न मनै थिएन ऊसँग जोडिदियो



दुनियाँलाई थाहा छ हिजो नेकपा हुँदादेखि नै हाम्रो बीचको अन्तरबिरोध उत्कर्षमा थियो । प्रतिनिधिसभाको विघटन हुन भन्दा अगाडि र पछाडि यद्यपि पुनर्स्थापना भइसकेपछि पनि भएका क्रियाकलापहरू एक पटक आँखा चिम्लिएर सम्झनु कमरेडहरू ।

त्यतिबेला मिडिया र सभामा आफैले बोलेको भिडियो खोलेर सुन्नुहोस् कमरेडहरू, पार्टीका अध्यक्षलाई बारम्बार कारबाही गरेर गर्व गर्दै केपी ओली हाम्रो पार्टीको साधारण सदस्य पनि होइन भनेको संझनुहोस् कमरेडहरू ।

दशकौँदेखि सहकार्य गरेको सहयोद्धालाई १९ पृष्ठको संगीन आरोप लगाउँदा हाम्रो साझा दस्ताबेज हो भन्दै हिँड्ने तपाईँ कमरेडहरू , वैधानिक व्यवस्था र प्रक्रिया समेत हेक्का नराखी अत्यन्तै अपमान जनक तरिकाले दलको नेता परिवर्तन गरियो भनेको स्मरण गर्नुहोस् कमरेडहरू , आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दश बिन्ती गरेको पनि संझनुहोस् ।

निर्वाचन आयोगलाई छिटो पार्टी फुटाएर आधिकारिकता हामीलाई दे भन्दै दबाब सृजना गरेको संझनुहोस् कमरेडहरू, कमरेड केपी ओलीलाई पार्टी र कम्युनिष्ट आन्दोलनबाट अत्यन्तै अपमानजनक तरिकाले बहिर्गमन गराउने जस्ता निर्मम व्यवहार , यस्ता अनेकौँ अनेकौँ हर्कतबारे एक पटक एकान्त बसेर आत्मसमिक्षा गर्नुहोस् कमरेडहरू ! सर्वोच्च अदालतले कानुनी रुपमा पार्टी अलग गरिदियो , तपाईंहरुलाई जोसँग बस्न मन थियो उसलाई अलग गरिदियो , जोसँग बस्नै मन थिएन ऊसँग एकै ठाउँमा जोडिदियो , सत्य यही होइन र ?

पुर्वबत पार्टीको रुपमा अलग हुनसाथ बिदाइ भएर पेरिस डाँडाबाट फर्कँदै गर्दा नेकपा एमालेमा आफ्नो पोजिशन सशक्त हुने र ठुलो शक्ति लिएर फर्कने प्रतिबद्धता गर्नु भयो भन्ने कुरा जब बाहिर आएको छ , स्वयं प्रचण्डको मुखबाट समेत त्यही कुरा बोल्ने काम भएको छ जसले गर्दा केही आशङ्का हुनु स्वाभाविक पनि हो । यी सबै कारणले गर्दा हाम्रा बीचका तिक्तता मेटिन र हार्दिकता कायम हुन केही समय लाग्ने कुरा स्वाभाविक हो ।

यस्तो परिस्थितिमा सामान्य जिम्मेवारी हेरफेर हुने कुरालाई आकाश खसेको रुपमा लिएर फेरि अस्वस्थ खेल , छुट्टै भेला आदि इत्यादि गर्ने काम नगरौँ कमरेडहरू । समीक्षा गरौँ , बहस छलफल गर्दै महाधिवेशनमा जाऔँ ।

महाधिवेशनसम्म जाँदा फाटेका मनहरू मिल्दै जानेछन् । आपसमा घुलमिल हुँदै पुरानो घाउ पुरिँदै पनि जानेछ र हामी फेरि भावनात्मक रूपले एक हुने ठाउँमा पुग्नेछौँ । एमालेका कार्यकर्ताको चाहना एकताबद्ध शक्तिशाली एमाले होस भन्ने नै छ । देश जनता र कम्युनिष्ट आन्दोलनका लागि पनि शक्तिशाली कम्युनिष्ट पार्टी आवश्यकता नै छ । त्यसैले आवेग , उत्तेजना र घृणा होइन विवेकसम्मत ढङ्गले अगाडि बढौँ अब आउने महाधिवेशनले समस्याको समाधान गर्ने निश्चित छ ।

 न्यौपानेको फेसबुकवालबाट, न्यौपाने राष्ट्रियसभा सदस्य हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस