बिहिबार, १४ श्रावन २०७८

भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै : अनुसन्धानमा प्रहरीको सम्पूर्ण जनशक्ति परिचालन

भारतीय सीमकार्डले अनुसन्धानमा समस्या



बैतडी, २५  माघ – नेपाल प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान तीब्र रुपमा अघि बढाएको छ । अनुसन्धानका लागि प्रहरीले सम्पूर्ण जनशक्ति परिचालन गरेको बताएको छ । घटना विवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसमेत आइतबार बैतडी पुग्नुभएको छ ।

तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको  जानकारी दिएको छ ।

शनिबार पाँच जनासँग सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायाणप्रसाद अधिकारीले जानकारी दिनुभयो । आइतबार पनि प्रहरीको अनुसन्धान टोली दोगडाकेदारमै रहेको र प्रदेश प्रहरी प्रमुखसमेत दोगडाकेदार पुग्नुहुने बैतडी प्रहरी प्रमुख, प्रनाउ पनारायणप्रसाद अधिकारीले बताउनुभयो ।
घटनाको अनुसन्धान गर्न एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय बैतडी, इलाका प्रहरी कार्यालय पाटन–बैतडीको टोली सयुक्त रुपमा खटिएको बैतडी प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।

घटनाको थप अनुसन्धानमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र सीआईबीबाट निर्मला पन्तको हत्याको घटना अनुसन्धान गर्न कञ्चनपुरमा रहनु भएका डीएसपी पञ्चकुमार बाखुको टोली पनि भागरथी हत्याको अनुसन्धान गर्न खटिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानी घर भएकी भागरथीको माघ २२ गते विद्यालयबाट घर फर्किने बाटोमा पर्ने लडालेक जङ्गलका शव फेला परेको थियो ।

यसैबीच प्रहरीले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टले प्रयोग गर्ने गरेको मोबाइलका सबै डाटा  ‘रिकभर’ गर्ने भएको छ ।

घटनास्थलमा भेटिएको उनको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मोबाइलसहित घटना स्थलमा भेटिएका सबुत प्रमाणको आवश्यकताका आधारमा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको बताउनुभयो।

उहाँले भागरथीले प्रयोग गर्ने मोबाइल पनि परीक्षणका लागि केन्द्रीय डिजिटल ल्याबमा पठाइरहेको बताउनुभयो। त्यसबाट मोबाइलमा भएका सबै म्यासेज, अडियो–भिडियो र कलका सबै विवरण प्राप्त निकाल्न सकिने भएकाले अनुसन्धानमा सहज हुने उहाँले बताउनुभयो ।

भागरथीले प्रयोग गर्ने मोबाइलमा भारतीय सीम कार्ड पनि रहेको बताइएको छ तर, बैतडी प्रहरी प्रमुखले यसको अहिले पुष्टि गर्न नमिल्ने बताउनुभयो ।

उनले प्रयोग गर्ने नेपाली सीमकार्ड सो दिन घरमै रहेको पाइएकाले प्रहरी अनुसन्धानमा केही समस्या भएको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार भारतीय सीमकार्ड र मोबाइलका म्यासेज, भिडियो–अडियो र कलको विवरण समेत डिलिट गरेको पाइएपछि मोबाइलबाट बलियो ‘क्लु’फेला पर्न सकेको छैन।

तर डाटा ‘रिकभर’ भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भारतीय प्रहरीसँग पनि समन्वय गरेर अनुसन्धान भइरहेको बताउनुभयो।

यसैबीच पोष्टमार्टमका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको भागरथी भट्टको शवको शनिबार पोष्टमार्टम भएको छ । पोष्टमार्टमको रिपोर्ट सोमबारसम्म आउनेछ भने भेजाइनल स्वाब फरेन्सिक ल्याबमा प्रहरीमार्फत पठाइने जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले बताउनुभयो ।

घर फर्किए दाजु

बहिनीको हत्याको खबर सुनेपछि रोजगारीका लागि भारत गएका केशवराज भट्ट आइतबार घर पुग्नुभएको छ ।बहिनीको हत्यापछि आमा द्रोपति घरमा एक्लै हुनुहुन्छ । उहाँ छिनछिनमा बेहोस हुने गरेको शिवराज भट्टले बताउनुभयो । भागरथीले पालेका बाख्रा र गाईवस्तुलाई घाँस दिने मान्छेसमेत नहुँदा वस्तुभाउ आँगनमा कराइरहेको उहाँले बताउनुभयो ।

दुई महिना अघि उपचारको क्रममा बुबाको मृत्यु भएपछि घर खर्च चलाउन यही माघ ४ गते पढाइ छोडेर केशवराज भट्ट रोजगारीका लागि भारत जानुभएको थियो ।भागरथीको हत्याका दोषी पक्राउको माग गर्दै शनिबार दोगडाकेदार गाउँपालिकाका स्थानीयले महाकाली लोकमार्गको बैतडी–दार्चुला सडक खण्डमा ३ घण्टा चक्काजाम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस