बुधबार, २२ मंसिर २०७८

भीम रावलले दिए माधवलाई जवाफ : धकेल्दा धकेलिनेले, फर्काउँदा चाँहि किन नफर्किएकाे ?



काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले माधवकुमार नेपाललाई जवाफ फर्काएका छन् । माधव नेपालले हिजो एक कार्यक्रममा आफुलाई पार्टी विभाजन गर्न धकेल्नेहरु अन्तिम अवस्थामा फर्किएर हेर्दा नदेखिएको र आफु एक्लो बनेको बताएका थिए ।

आफ्नो खेमामा रहेका दोस्रो तहका नेताहरुले नै नयाँ दल खोल्न दबाब दिएको तर अन्तिममा साथ छाडेको अभिव्यक्ति नेता नेपालले शनिबार दिएपछि एमाले उपाध्यक्ष रावलले सामाजिक सन्जालमै प्रतिरोधमा उत्रनुभएको हो ।

रावलले माधवकुमार नेपालप्रति ब्यंग्य गर्दै कसैले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने टिप्पणी गर्नुभएको छ ।

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ रावलले फेसबुकमा लेख्नुभएको छ ।

नेपालले दोस्रो पुस्ताकै नेताहरूका कारण आफूहरू व्रिदोह गर्ने तहसम्म पुगेको र दोस्रो पुस्ताकै नेताहरूले छिटो एमालेबाट अलग हुनुपर्ने भन्दै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको दाबी गर्नुभएको थियो ।

एमाले सचिव योगेश भट्टराईले पनि आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन नेता नेपाललाई सुझाव दिनुभएको छ ।

नेता नेपाललाई अर्ती दिँदै ट्वीटमा रावल लेख्नुहुन्छ, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’

प्रतिक्रिया दिनुहोस