मंगलबार, १२ असोज २०७८

यी हुन् चीनमा करोडौं कमाउने बलिउडका पाँच फिल्म



एजेन्सी । बलिउड विश्वको दोस्रो ठूलो फिल्म इन्डस्ट्रीमा पर्दछ । त्यहाँ हरेक वर्ष एक हजारभन्दा बढी फिल्म निर्माण र रिलिज हुने गरेका छन् । बलिउड फिल्मले अन्य देशमा समेत आफ्नो बलियो पकड बनाइसकेको छ । क्यानडा, अमेरिका, यूरोपियन देश, अरब देशमा समेत बलिउड फिल्म सर्वाधिक हेरिन्छ । पछिल्लो समय चीनमा पनि राम्रैसँग बलिउड फिल्मले आफ्नो बजार विस्तार गरेको छ ।

चीनको बक्सअफिसमा केही हिन्दी फिल्मले मनग्य पैसा कमाएका छन् । प्रस्तुत छ चिनमा करोडौँ कमाउने बलिउडका पाँच फिल्म

दंगल

सन् २०१६ मा रिलिज भएको अभिनेता आमिर खान अभिनीत फिल्म ‘दंगल’ चीनमा सबैभन्दा बढी कमाई गर्ने फिल्म हो । फिल्म फेयरको रिपोर्ट अनुसार, चीनको बक्सअफिसमा फिल्मले १४ सय करोडको कमाएको थियो । भारतमै झन्डै ४ सय करोड कमाई गरेको यस फिल्मका निर्देशक नीतेश तिवारी हुन् ।

‘सिक्रेट सुपरस्टार’

सन् २०१७ मा रिलिज भएको अभिनेता आमिर खानकै अभिनय तथा निर्माण भएको अर्को फिल्म ‘सिक्रेट सुपरस्टार’ ले पनि चीनमा ठूलो कमाई गरेको थियो । भारतमा औसत कमाएको यो फिल्म चीनमा भने ब्लकबस्टर सावित भयो । फिल्मले चीनमा ८ सय ३१ करोड छापेको थियो । चीनमा सबैभन्दा बढी कमाई गर्ने यो दोस्रो बलिउड फिल्म हो ।  फिल्मको निर्देशन अद्वित चन्दनले गरेका थिए ।

‘अन्धाधुन्ध’

सन् २०१८ मा आएको श्रीराम राघवनको फिल्म ‘अन्धाधुन्ध’ समीक्षक र दर्शकले निकै रुचाए । फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गर्‍यो । यूनिक कहानी फिल्मको सबैभन्दा ठूलो तागत थियो । आयुष्मान खुराना र तब्बूको अभिनयलाई पनि दर्शकले मन पराएका थिए । भारतसँगै यो फिल्मले चीनमा समेत ठूलो कमाई गरेको थियो । चीनमा फिल्मको कलेक्सन ३ सय ३ करोड थियो ।

 

‘बजरंगी भाईजान’

भारतमा अभिनेता सलमान खान अभिनीत तथा निर्मित फिल्म ‘बजरंगी भाईजान’ निकै रुचाइएको थियो । यो उनको करिअरकै सबैभन्दा उत्कृष्ट फिल्म भन्ने गरिन्छ । फिल्ममा उनको अभिनयले दर्शक भावुक बनेका थिए । भारतमा ३ सय २० करोड कमाई गरेको यो फिल्म चीनमा पनि सुपरहिट भएको थियो । फिल्मले चीनको बक्सअफिसमा २ सय ९५ करोडको कमाई गरेको थियो ।

‘हिन्दी मिडियम’

चीनमा सर्वाधिक आम्दानी गर्नेमा स्वर्गीय बलिउड इरफान खान र पाकिस्तानी अभिनेत्री सबा कमर अभिनीत हिन्दी फिल्म ‘हिन्दी मिडियम’ पनि पर्छ । भारतीय बजारमा १ सय ४३ करोड कमाई गरेको फिल्मले चीनको बक्सअफिसमा २ सय २० करोड छाप्न सफल भएको थियो । कलाकारको अभिनय र फिल्मको कथावस्तुलाई भारतसँँगै चीनका दर्शकले समेत निकै रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस