सोमबार, ०१ कार्तिक २०७८

छात्रामाथि जबर्जस्ती करणीको अभियोगमा शिक्षक थुनामा, अर्का अभियुक्त धरौटीमा छुटे



लमजुङ । लमजुङमा १४ बर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । राइनास नगरपालिका भैरव माविका शिक्षक प्रकाश थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बुधवार जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायाधीश पुनाराम खनालको एकल इजलासको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो । पीडित छात्राले १ भदौमा राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीलगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए ।

शिक्षक थापालाई भने १४ भदौमा प्रहरीले पक्राउ गरेको हो । बलात्कारका अर्का आरोपी अर्जुन विक्रम थापा भने ३ लाख धरौटी तिरेर रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस