सोमबार, ११ श्रावन २०७८

आखेटोपहार भण्डारणमा समस्या



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या भएको छ । केन्द्रीय भण्डारणका रुपमा रहेको निकुञ्जमा देशैभरबाट आखेटोपहार आउने हुँदा भण्डारणमा कठिनाइ भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा पाँच कोठा आखेटोपहारले भरिएका छन् । कतिपय आखेटोपहार कुहिएको र दुर्गन्ध फैलिएको उहाँले बताउनुभयो । हाल यहाँको भण्डारणमा गैँडाको खाग १४९, गैँडाको खुर एक हजार २८६, बाघको छाला १६, चितुवाको छाला ९३ , रातो हाब्रेको छाला ४४ र हात्तीको दारा ४११ थान तथा चिरुको राँैं ७५ बोरा छन् ।

त्यसैगरी कस्तुरीको बिना ११, चरी बाघको छाला चार, अजिङ्गरको छाला तीन, हिउँ चितुवाको छाला दुई र गोहीको छाला तीन थान तथा सालकको खपटा २४१, बाघको हड्डी ९५ र भालुको पित्त १९ किलो छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारी खागमा कीरा लागी बिग्रेको, केही खागको अवशेष मात्रै रहेको, छाला तथा अन्य आखेटोपहार अधिकांश ओसको कारणले कुहिसकेको र बाँकी कुहिने अवस्थामा रहेको बताउनुहुन्छ ।

देशका विभिन्न स्थानमा चोरीशिकार तथा प्राकृतिक कारणले मरेका वन्यजन्तुको आखेटोपहार यहाँ ल्याउने गरिन्छ । यसैगरी तस्करबाट बरामद गरिएको वन्यजन्तुको आखेटोपहार पनि यहीँ ल्याइन्छ ।

आखेटोपहार थपिँदै जाने र भण्डारण गर्ने स्थानको उचित व्यवस्था नहँुदा समस्या भएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । विसं २०७४ मा मन्त्रिपरिषद्को निर्णयबाट निकुञ्जमा ठूलो मात्रामा आखेटोपहार जलाएर नष्ट गरिएको थियो । त्यसपछि प्रत्येक पाँच वर्षमा कार्यविधि बनाएर नष्ट गर्ने भनिएको र पाँच वर्ष लामो समय हुने भएको कारण त्यसभन्दा छिट्टै नष्ट गरिनुपर्ने बराल बताउनुहुन्छ । आखेटोपहारको कुनै मूल्य नभएका कारण यसलाई केन्द्रीयस्तरको आखेटोपहार व्यवस्थापन समूहभन्दा स्थानीयस्तरको कार्यदल बनाएर चाँडो चाँडो नष्ट गरिँदै जानुपर्ने बरालले सुझाव दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य सङ्कलनको अवस्था हेरेर समयसमयमा जलाएर व्यवस्थापन गर्नुपर्ने देखिएको बताउनुहुन्छ । यसको भण्डारण जटिल हुने भएकाले छिटोछिटो सरकारीस्तरबाट निर्णय गरी व्यवस्थापन गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।

उन्नतजातको मकैको बीउ अभाव

मकै लगाउने मौसममा बीउको अभाव भएको छ । हरियो घोगा र कुखुराको दानाका लागि उत्पादनको समयमै मकै बिक्री भएपछि बीउ अभाव भएको हो ।

कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमराज अर्यालका अनुसार बीउका लागि उत्पादन गरिने मकैका उत्पादन गर्न अपनाउनु पर्ने प्रक्रिया कृषकले झन्झटिलो मान्न थालेकाले बीउको अभाव भएको हो । उहाँका अनुसार जिल्लामा बीउको मागको ५० प्रतिशत पनि उपलब्ध छैन । जिल्लामा १३ हजार ३०० हेक्टर क्षेत्रफलमा वसन्ते ९वर्षे० मकै लगाइँदै आएको छ । सोका लागि ३६६ टन बीउ आवश्यक पर्छ ।

जिल्लामा पाँच हजार हेक्टरमा हिउँदै मकै लगाइन्छ । उन्नत जातको बीउ उत्पादन गर्नका लागि ३०० मिटर वरिपरि अर्को जातको मकै लगाउन मिल्दैन । परागसेचनका कारण वरिपरि एउटै जातको मकै हुनुपर्ने अर्याल बनाउनुहुन्छ । उहाँले भन्नुभयो, “नजीकै अर्को जात भएर क्रस भयो भने बीउ बन्न सक्दैन ।”
बीउ मकै लगाउने जमीनको वरपरका किसान मिलेर मात्रै लगाउनुपर्ने समस्याका कारण पनि किसानले झन्झट मान्ने गरेको उहाँको भनाइ छ । बीउका लागि उत्पादन गर्न झन्झटिलो हुने भए पनि तत्काल बिक्री गर्न सहज हुने गरेको छ । कृषकले कुखुराको दानाका लागि तत्कालै बिक्री गर्दा राम्रो मूल्य पाउने गरेका छन् ।

यस्तै घोगा बिक्री गर्दा समेत राम्रो आम्दानी हुने भएपछि ६ महिनासम्म बीउका लागि भण्डारण गर्न छाडिएको अर्यालले जानकारी दिनुभयो । जिल्लामा हिउँदे मकै पाँच हजार हेक्टरमा २१ हजार मेट्रिक टन र वसन्ते मकै १३ हजार ३०० हेक्टरमा ५१ हजार १०० मेट्रिक टन उत्पादन हुने गरेको छ ।

अर्यालका अनुसार अहिले किसान उन्नत जातको बीउ नपाएपछि वर्णशङ्कर मकै लगाउने तयारीमा लागेका छन् । जिल्लामा विशेष गरी स्थानीय जातका मकै, रामपुर कम्पोजिट, अरुण– २, रामपुर हाइब्रिड –१० जातका मकैको बीउ प्रयोग हुँदै आएका छन् ।

अहिले जिल्लामा नै उत्पादित उन्नत जातको मकैको मूल बीउ पाउन नसक्दा किसान चिन्तित बनेका हुन् । उन्नत जातको बीउका लागि किसानले चर्को मूल्य तिर्दासमेत पाउन नसकेको गुनासो आउन थालेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–६ गीतानगरको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषि चापागार्इं मकैको बीउ पाउन कठिन भएको बताउनुहुन्छ । संस्थाले २०० बिघा क्षेत्रफलमा मकैखेती गर्ने तयारी गरेको छ । उहाँले त्यसका लागि पर्याप्त बीउ पाउन नसकिएको बताउनुभयो ।

पशुपालनसमेत गर्दै आएको सो संस्थाले अनुदान पाउने भएपछि कृषि ज्ञान केन्द्रसँग सहकार्य गरेर काम अघि बढाएको छ । केन्द्रका प्रमुख राजन ढकाल उचित व्यवस्थापन हुन नसक्दा बीउको अभाव भएको बताउनुहुन्छ । बीउ भएका ठाउँमा मकैलाई खाद्यान्नमा प्रयोग गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पालिकाहरुले बीउमा आत्मनिर्भर कार्यक्रम नराखेका कारण पनि समस्या भएको छ ।”

भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका ओमश्री बीज वृद्धि कम्पनीका सञ्चालक चिरञ्जीवी पोखरेल उन्नत जातको बीउको अभाव भएको बताउनुहुन्छ । आफूले मूल बीउ डडेलधुरा पठाए पनि बीउ भने नआएको बताउनुभयो । तीन टन बीउ आउने अपेक्षा गरिए पनि नआउँदा बीउको अभाव भएको उहाँको भनाइ छ ।

कृषकले बीउ नै पाउन नसकेको पोखरेलले बताउनुभयो । यसबाट मकै उत्पादन प्रभावित हुने कृषक बताउँछन् । उन्नत जातको स्वदेशी बीउ नपाएपछि महँगोमा विदेशी वर्णशङ्कर जात वा स्थानीय जातको मकै लगाउन कृषक बाध्य छन् । सरकारी निकायबाट समन्वयकारी भूमिका हुनुपर्ने कृषकको माग छ ।

जिल्लामा कुखुरा र गाईभैँसीको दाना उत्पादन गर्ने धेरै उद्योग छन् । सोका कारण मकै उत्पादन हुने समयमा नै कृषकले राम्रो मूल्यमा सहजै बिक्री गर्न पाउँछन् । यसबाट भण्डारणलगायत झन्झटबाट समेत किसान मुक्त हुने गर्छन् । शहरका ठाउँठाउँमा हरियो मकै पोलेर बिक्री गर्ने प्रचलन पनि बढ्दै गएको छ । त्यस्तो व्यापारीले कृषकको खेतबाटै हरियो मकै उठाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस