सोमबार, ११ श्रावन २०७८

‘कंफर्टेबल सरकार’ र प्रचण्ड डराउनुको भित्री रहस्य



  • सर्वहारा वर्गीय जीवनशैली र कम्युनिष्टका चर्का आदर्शका कुरा गर्ने प्रचण्ड स्वयंलाई किन चाहियो त ४७ जना सुरक्षाकर्मी ? टाउकोको मूल्य तोक्ने र तोकिनेको कन्र्फटेबल अङ्कमाल र सत्ता साझेदारी च्युत भएको आदर्श र बाटो भुलेको दृष्टान्त हो । आखिर पिँध नभएका लोटा न हुन् , भिरालै तिर गुड्नु उसको स्वभाव र चरित्र हो ।

काठमाडौं । भारतका लागि देउवाको नेतृत्वमा कन्र्फटेबल सरकार बनाउने सार्वजनिक उद्घोष गरेका माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ देउवा नेतृत्वको सरकार बनेसँगै सत्ता र शक्तिको मनपरीमा उत्रिसकेका छन् ।
सरकार बनेको केही दिनयताकै घटनाक्रम हेर्ने हो भने पनि उनी देउवाको बुई चढेर राज्यका हरेक संयन्त्रमा आफ्नो पकड र दोहन गर्ने महाअभियानमै जुटेको प्रतीत हुन्छ ।

हिजो सर्वहारा वर्गको दुहाई दिने दाहालको लगाई खुवाई र बसाई यत्तिखेर यत्तिखेरै राजसी छ की उनलाई सर्वहाराबर्गको प्रतिनिधि वा कम्युनिष्ट नेता भन्न सकिने खालको हुलिया छैन ।
केही महिना अघिसम्म सडकमा पलेटी कसेर ‘हामी यहाँ छौ’ भनेर चिच्याउने प्रचण्ड आखिर देउवा नेतृत्वमा सरकार बन्नासाथ किन लावा लस्करसहितको सुरक्षा लिन आतुर देखिए ?

​​​​​​​

जनताको लागि आन्दोलनको दुहाई दिने प्रचण्डले कोटेश्वरमा दालमोट चिउरा चपाएको घटना सायद धेरैलाई याद हुनुपर्ने नै हो । प्रोपोगान्डाका लागि सडकमा चिउरा चपाएको नाटक गर्ने दाहाल यस अघि कहिले डेढ लाखको पलङमा सुतेर त कहिले पाँचलाखको घडी लगाएर चर्चामा आएकै थिए । जनताको झुप्रोमा ढिँडो खाएको तस्बिर सार्वजनिक गर्ने प्रचण्ड यत्तिखेर राज्यबाट ४७ जनाको लावा–लस्करसहितको सुरक्षाकर्मी वरिपरि घुमाएर चर्चामा छन् ।

राजनीतिमा आफूलाई चतुर खेलाडी बताउने दाहाल वास्तवमै बाटो भुलेका र अत्यन्तै अस्थिर राजनीतिज्ञ हुन् । हिजो टाउकाको मोल तोक्ने र तोकिने दुवैको यत्तिखेरको मिलन त्यही राजनीतिक अस्थिरताको उपज न हो । दुई भिन्न राजनीतिक लाइन बोकेकाको यो एकता कुनै अमुक शक्ति केन्द्रको स्वार्थबाट प्रेरित रहेको कुरा त उनी आफैले विदेशीको लागि ‘कन्र्फरटेवल’ सरकार बनाउने सार्वजनिक अभिव्यक्ति दिए बाटै प्रस्ट भइसकेको छ ।
सत्ताका लागि अमुक शक्ति केन्द्रसँगको गठ जोड र उठबसमा बुनिएका तानाबाना कुनै पनि दिन पर्दाफास हुनसक्ने सायद प्रचण्डले बुझेकै छन् ।

अमुक शक्ति केन्द्रसँग गरिएको सहमति र आफूले बाँडेको आदर्श र स्कुलिङ कुनै पनि दिन पटाक्षेप हुने कुरा सायद उनलाई प्रष्टै थाहा छ । कार्यकर्तालाई उचाल्न भित्रभित्र एमसीसीको विरोध गरेका दाहाल कोटेश्वरमै कार्यकर्ताले एमसीसी मुर्दावाद भनी नारा लगाउँदा मुख फर्काएर हिँडेको त यस अघि नै देखिएकै हो ।

स्वार्थका लागि जस्तोसुकै नारा दिने र स्वार्थकै लागि जस्तोसुकै शक्तिसँग सहमति पनि गर्न तयार हुने दाहालको शान्ति सम्झौता र त्यसपछिको यात्रा त्यसैको निरन्तरता न हो ।

शान्ति प्रक्रियामा आउनुअघिसम्म धेरैले रहस्यका रूपमा बुझेका दाहाल युद्धकालमा त्रास र डरको विम्ब बनेका थिए । शान्ति प्रक्रियाबाट बाटो बदलेका प्रचण्ड स्वयम द्वन्द्वको मुद्दा र राजनीतिक भविष्यसँग डराइरहेका छन् । राजनीतिमा कसरी टिक्ने भन्ने डरले भयभीत देखिएका उनी जनयुद्धको जगमा आर्जेको आत्मविश्वास र शक्ति बिस्तारै गुमाउँदै गइरहेका छन् । आत्मविश्वास गुमाएका दाहालको अराजनीतिक गठबन्धन, च्युत आदर्श र बेमानी, शक्ति र सत्ताको लागि नै हो, यो सत्य समयक्रममा पटाक्षेप हुने नै छ ।

अहिलेलाई भने हामी यहाँ छौ भनेर दुई महिना अघि सडकमा दालमोट चिउरा चपाउने प्रचण्डलाई आखिर के कारणले बढ्यो त सुरक्षा थ्रेड ? सर्वहारा वर्गीय जीवनशैली र कम्युनिष्टका चर्का आदर्शका कुरा गर्ने दाहाललाई आखिर किन चाहियो त ४७, ४७ जनाको सुरक्षाकर्मी ? टाउकोको मूल्य तोक्ने र तोकिनेको कन्र्फटेबल अङ्कमाल र सत्ता साझेदारी, च्युत भएको आदर्श र बाटो भुलेको दृष्टान्त नभए के हो त ? आखिर दाहाल ‘पिँध नभएका लोटा’ न हुन् , भिरालै तिर गुड्नु उनको स्वभाव र चरित्र हो ।

राष्ट्रियताको पक्षमा प्रचण्डको धोकाधडी बुझ्न दुई उदाहरण नै काफी छैनन् र ? एक नाकाबन्दीको समयमा उठेको राष्ट्रियतालाई कमजोर पार्न प्रधानमन्त्री केपी ओलीको सरकारलाई ढाल्नु । र दोस्रोपटक, चुच्चे नक्सा जारी भएपछि उठेको राष्ट्रियता कमजोर पार्न स्वयम ओलीलाई समाप्त पार्न दिलो ज्यान दिएर लाग्नु ।
यत्तिखेर ध्वंसको राजनीतिलाई नै आफ्नो विजय ठान्ने दाहालको अर्को ठुलो छलाङ भनेको विदेशीको लागि कन्र्फटेबल सरकार न हो । आखिर जनतासँग बिस्तारै टाढिँदै गएर विदेशी प्रभुलाई कन्फर्टेबल सरकार बनाउन पुगेका दाहाललाई यो देशमा कसको विश्वास र भरोसा होला र यत्तिखेरै नडराउन पनि ?

प्रतिक्रिया दिनुहोस