सोमबार, ११ श्रावन २०७८

कोरोना अनुभव : जोखिमपूर्ण रिपोर्टिङदेखि आइसोलेशनसम्म



गलकोट । कोरोनाअघि सामान्यता पत्रकारको दैनिकी कार्यक्रम, सभासम्मेलन तथा फिल्ड रिपोर्टिङमा चलिरहेको थियो । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी महामारीका रुपमा फैलिसकेको थियो ।

एउटा पत्रकारको हैसियतले कस्तो प्रकारको रोग रहेछ भन्ने जिज्ञासा चिनको बुहानबाट शुरु भएको कोरोना भइरसका कारण प्रभावित बनेका नेपाली विद्यार्थीकोे उद्धार भइरहँदा मनमा उब्जिएको थियो ।

कोरोना नेपालमा आउने कुरामा आशङ्का व्यक्त गरिएको थियो । विश्वस्वास्थ्य सङ्गठनले सबै देशमा सावधानी अपनाउन भनेको थियो । नभन्दै नेपालमा त्यसको सामान्य प्रभाव फागुनबाटै शुरु भयो । कोरोनाले पत्रकारको दैनिकी नै फे¥यो । गण्डकी प्रदेशको बागलुङ जिल्लाको व्यस्त सडक विस्तारै कम हुँदै गयो । हात मिलाउने विस्तारै भेटघाटमा नमस्कार गर्ने परिपाटी बस्यो । साविक धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ बजार सरकारले गरेको बन्दाबन्दीकै क्रममा सुनसान भयो । सबै बजारवासी गाउँ फर्कन थाले ।

शुरुमा म शहरमा मास्क, स्यानिटाइजरमा भएको कालोबजारी र सर्वसाधारणमा देखिएको त्रासमा केन्द्रित थिएँ । कोभिड–१९ को सङ्क्रमण रोक्न भइरहेका प्रयास र जोखिमबारे विभिन्न निकायसँग गफ गर्दै आएँ । चैत पहिलो साता सबैतिर सावधानी शुरु भयो । हामीले सावधानी अपनाएर काम गर्न थाल्यौँ ।

सरकारले चैत ११ बाट लकडाउन घोषणा गर्नुअघि नै गण्डकी प्रदेशका विभिन्न शहर सुनसान भइसकेका थिए । गाडी पातलिएका थिए । फिल्डमा गएर रिपोर्टिङ गर्न जोखिम थियो । तैपनी पत्रकारितालाई निरन्तरता दिइँदै आएँ । त्यसपछि मेरो ध्यान कोरोनाले असर गर्नसक्ने उद्योग, कृषि, व्यापार, सरकारी कार्यालयमा थियो । लकडाउनपछि जनजीवन ठप्प भयो । स्थानीय र प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका गतिविधि शुरु गरिसकेका थिए ।

भूकम्पको महामारीमा धनी गरीब सडकमै आएजस्तै बन्दाबन्दीलेसमेत सबैलाई असर गर्न थाल्यो । जनजीवन प्रभावित बन्न थाल्यो । नेपाली पत्रकारिता क्षेत्रमा नयाँ शब्द आउन थाले जस्तै ः लकडाउन, सटडाउन, बन्दाबन्दी, स्यानिटाइजर, आइसोलेशन, क्वारेन्टिन, स्वाब, आरडिटी, पिसिआरलगायत । बागलुङमा चैत दोस्रो साता नेपालमै पाँचौँ कोरोना सङ्क्रमित पुष्टि भएसँगै बागलुङ एकाएक नेपालभर चर्चामा आएको थियो । राजधानी बाहिर कोरोना पुष्टिको घटना पहिलो थियो ।

बागलुङमा दुई दर्जन पत्रकार क्रियाशील छन् । जसमध्ये अधिकांश पत्रकारले युद्ध र आन्दोलनमा रिपोर्टिङको अनुभव नभएका थिए । तर महामारीको रिपोर्टिङ भने सबै पत्रकारलाई नौलो थियो । तर विभिन्न देशमा कोरोनाका कारण लाखौँ मानिसले ज्यान गुमाएका सन्दर्भमा त्रासपूर्ण अवस्था पत्रकारलाई नहुने कुरै भएन । बागलुङका अनलाइनबाहेकका मिडिया बन्द भए । पत्रकारले केन्द्रीय मिडिमा रिपोर्टिङदेखि घरमै बसेर अनलाइन सञ्चालन गर्ने परिपाटी विकास भयो । काठमाडौँका ठूला मिडियालेसमेत घरबाटै सेवा दिन थाले । अनलाइन पत्रकारिताको महत्व निकै बढेर गयो भने कोरोना कहरमा जनतालाई सही सूचना सही समय दिनलाई नेपालका अनलाइन सक्षम भए । कोरोना मैले काम गरिरहेको संस्था राष्ट्रिय समाचार समितिले अतिरिक्त समाचारसमेत प्रकाशनमा ल्यायो । अनलाइनले राससले उत्पादन गरेको समाचार निकै प्राथमिकताका साथ प्रकाशन गरे । ठूला मिडियाका पत्रकारसमेत कोठामै सीमित भएको सन्दर्भमा राससको महत्व झनै बढेर गयो ।

अझ भनौ कोरोना नियन्त्रणमा पत्रकारिताको अझ ठूलो भूमिका भएको सबैले महशुस गर्दै आएँ । मास्क र स्यानिटाइजरको प्रयोगको प्रचल ह्वात्तै बढेर गयो । शुरुको बन्दाबन्दीमा म पनि जिल्ला सदरकमुकामबाट गाउँ फर्कें । बागलुङ बजार पूर्णरुपमा बन्द भएपछि दैनिक उपभोग्य वस्तुको अभाव भइरहेको थियो । जन्मथलो रहेको बागलुङ नगरपालिका–८ सिगाना १८ दिन बसाई गरे । जुन पत्रकारिता शुरु गरेको आठ वर्षमा सबैभन्दा बढी लामो बसाई थियो । तर गाउँमा रहँदासमेत आफ्नो कर्मबाट टाढा रहिएन । फोनबाटै कोरोनाको समाचार, स्वाब सङ्कलन, सङ्क्रमितको अवस्थादेखि उनीहरुको अनुभवसमेत जनताकामा पु¥याउने काम गरिरहँे । ल्याप्टप र मोबाइल डाटाका भरमा १८ दिन रिपोर्टिङ गरेसँगै पुनःजिल्ला सदरमुकाम आइयो । जिल्लामा बन्द भएका पत्रिका पुनःसञ्चालन हुन थाले तर प्रभावकारीरुपमा अनलाइन बढी चलेको पाइयो । त्यतिबेला जम्मा आधादर्जन क्रियाशील पत्रकार मात्रै फिल्ड रिपोर्टिङमा थिए । अन्य पत्रकार कोठामै सीमित भएको अवस्थामा जोखिम मोलेरै भए पनि समाचार सङ्कलनका लागि धौलागिरि अस्पताल धाउन थालियो । कोरोनामा समाचारको मुख्य स्रोत र स्थान धौलागिरि अस्पताल थियो । धौलागिरि अस्पताल जिल्लाका पत्रकारको मात्रै हैन, नेपालकै मिडियाको स्रोत थियो । राजधानी बाहिर पहिलो सङ्क्रमितको उपचार गर्न तोकिएको अस्पताल थियो धौलागिरि अस्पताल । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट पत्रकारको फोन उठानमै व्यस्त भएको अनुभव सुनाउनुहन्थ्यो । दिनभर पत्रकारकै फोन मात्रै आउँदा तनावसमेत भएको उहाँले अनुभव सुनाउनुभएको थियो ।

अस्पतालले वैशाखभित्रै देशकै पाँचौँ सङ्क्रमित बागलुङ नगरपालिका–४ कुँडेलेकी १८ वर्षीय युवती अंशु सापकोटा र बागलुङ नगरपालिका–३ गैँडाकोटकी ६५ वर्षीय मनकुमारी पौडेलको सफल उपचार भयो । उनीहरुले आत्मबलले कोराना जितेको अनुभव समेटिएका समाचार राससमार्फत नेपालका धेरै मिडियाले कभर गरेका थिए । अस्पतालको नाम समाचारकै कारण एकाएक चर्चामा आयो । चर्चामात्रै भएन सङ्घीय सरकार र प्रदेश सरकारले कोरोना अस्पतालका रुपमा अस्पताललाई विकास गर्ने भन्दै गण्डकी प्रदेशपछि सघन उपचार कक्ष र भेन्टिलेटरसहितको सुविधा दिनसमेत कोरोनाकै कारण सफल भयो ।

पटकपटक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पतालको अनुगमनमा आउनुभयो । सङ्घीय सरकारका प्रतिनिधिसमेत बेलाबेलामा आए । कोरोना नभएको भए अस्पतालमा अझै केही वर्ष सघन उपचार कक्ष सेवा हुने थिएन । अहिले अस्पतालमा तीन श्यया सघन उपचार कक्ष र तीन भेन्टिलेटर छन् भने अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेको छ । अस्पतालले कोरोना कहरमै मुहार फेरेको पाइयो । तर अस्पतालमा आवश्यक स्वास्थ्यकर्र्मी र अनुभवी चिकित्सकको भने अभाव खड्किरहेको थियो । यसलाई निरन्तर समाचारका रुपमा प्रस्तुत गरियो भने स्वाब सङ्कलन भएको १७ दिनसम्म रिपोर्ट नआउँदा क्वारेन्टिनमा निसासिएर बस्नुपरेको पीडा र भारतलगायत तेस्रो मुलुकबाट उद्धार गरी आएकालाई स्थानीय तहले गरेको प्रशंसनीय कार्य र बेवास्थाका विषयका समाचारलेसमेत प्राथमिकता पाए । स्वास्थ्यकर्मीको अनुभवदेखि पाँच दिन पैदल हिँडेर बागलुङ आएका मजदूरका पीडासमेत समाचार बने ।

असारपछि जनजीवन केही सहज बन्दै जान थाल्यो । कोरोनालेभन्दा मानिसलाई भोकले सताउन थाल्यो, कोरोना सन्त्रासका बीच मानिस दिनचर्यामा लाग्न थालिसकेका थिए । गोजीमा स्यानिटाइजर बोकेर कामकाजी हिँडिरहेका थिएँ । तर बेलाबेलामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सीमित स्थानमा बन्दाबन्दी गर्न थालियो । त्यही बेलादेखि कोरोना भाइरस सङ्क्रमणको त्रास, यसबाट जोगिन सर्वसाधारणले अपनाइरहेको सावधानीबारे लेख्न शुरु गरेको थिएँ । यसै सन्दर्भमा सबैभन्दा बढी समाचार बन्दाबन्दीले पर्यटन, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, रेमिट्यान्स र कृषि क्षेत्रमा पारेको असरलाई महत्वपूर्णरुपमा लेखन गरियो । अझ रोचक कुरा त कोरोनाले मानिसको जीवनमा आएको परिवर्तन र गाउँ फर्केर गरेको नवीन व्यवसायका विषयमा लेखिएका दर्जन बढी समाचारले निकै प्राथमिकता पाए । कोरोना कहरकैबीच केहीले गाउँमै पाडापाडी संरक्षण, बाख्रापालन, बाँझो जग्गामा खेती गर्न शुरु गरेको लगायतका समाचार लेखियो । शुरुको अवस्थामा कोरोना सङ्क्रमित, स्वाब सङ्कलन, नयाँ रोगबाट त्रसितपूर्ण अवस्था र सङ्क्रमितका अनुभव लेख्दै आएको म विस्तारै त्यसको दीर्घकालीन असरका बारेमा लेख्दै जान थालेँ । नयाँ विषय र नयाँ शब्दावली भएका कारण कतै समाचार त्रुटिपूर्ण हुने हो कि भन्ने चिन्ता लाग्थ्यो तर निरन्तर डाक्रसँग परामर्श गरी समाचार तयारी गरिन्थ्यो । आफ्नै सङ्क्रमित हुने डर त छँदै थियो ।

बागलुङमा केही पत्रकार फिल्डमै पुगेर कोरोना रिपोर्टिङ गरे पनि केही डर र भयका कारण फोनबाटै समाचार सङ्कलन गरे । फिल्डमा जाने पत्रकारलाई कोरोना को उच्चजोखिम मानिएका समयमा पिसिआर परीक्षण गर्ने अस्पताल तथा स्वास्थ्य कार्यालयले व्यवस्थापन मिलायो । पत्रकार महासङ्घ जिल्ला शाखाले मसहित पाँच जना सक्रिय पत्रकारलाई पहिलो चरणमा पिसिआर परीक्षण गराएको थियो । त्यो समयमा कसैलाई कोरोना पुष्टि भएन । त्यसपछि अलि ढुक्क भएर समाचार सङ्कलन गर्न परिचयपत्र र पहेलो ज्याकेट लगाएर निरन्तर खटिएका थियौँ ।

धौलागिरि अस्पतालमा पहिलोपटक कात्तिक १८ मा कोरोना सङ्क्रमितको मृत्युले फेरि पत्रकारमा समेत सन्त्रास छायो । शव व्यवस्थापनका विषयमा जानकारी लिन अस्पतालदेखि शव व्यवस्थापनस्थल निरयघाटसम्म कडा सुरक्षाका बीच पुगियो । शव व्यवस्थापनमा अन्य जिल्लामा अवरोध भएको घटना बाहिर आएपछि शव व्यवस्थापनमा बाक्लो सुरक्षाकर्मी खटाइएको थियो । शव व्यवस्थापनको तस्बिरसमेत राससमार्फत धेरै मिडियामा आयो । अहिले बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगिसकेको छ ।

भदौ असोजदेखि कोरोनालाई मानिसले वास्तै गर्न छोडिसकेका थिए । नेपालमा दैनिक ५०० को हाराहारीमा कोरोना सङ्क्रमण भइरहेको हुन्थ्यो भने पाँच÷सात जना मरेको समाचार आउथ्यो । कोरोना कहरमा मलाई घरबाट निकै दबाब थियो फिल्डमा नजानु भन्ने तर पत्रकारिताको कर्म र धर्म निभाउन म निरन्तर फिल्डमा खटिँदै आएँ । स्वास्थ्यमा समस्या हँुँदा केही दिन परिवारबाट समेत अलग भएर समाचर सङ्कलनमा गएँ । परिवारबाट मलाई बारम्बार भनिन्थ्यो मृत्युभन्दा ठूलो पत्रकारिता हैन त्यसैले घरबाटै पत्रकारिता गरौँ तर मेरो मनले मानेन म फिल्डमै पुगेर रिपोर्टिङ गर्न थालेँ । फिल्डमै पुगेर तयार पारेको समाचार निकै प्रभावकारी र फरक र धेरैले चासोका साथ पढेको अनुभवसमेत गर्न पाइयो भने पत्रकार जहाँपनि जान्छ कोरोना सार्ला भन्ने जस्ता आरोपसमेत खेप्दै आइयो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनानाएरै पत्रकारिता कर्म गर्दा गर्दै माघ ३ गते साँझदेखि मेरो स्वास्थ्यमा एक्कासी समस्या आयो । त्यसैदिन विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाबाट उद्घाटन भएको थियो । दिनभर भीडभाडका बीच समाचार सङ्कलन गरियो । साँझपख केही स्वास्थ्यमा समस्या भएको महशुस भयो । भोलिपल्ट सामान्य ज्वरो आयो । तर निरन्तर कमल चलाइराखेँ । माघ ४ गते साँझपख कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण स्वास्थ्य परीक्षण गर्न धौलागिरि अस्पताल पुगँे । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले कोरोना परीक्षण गर्न भनेपछि त्यही दिन स्वाब दिएर घरमा आएँ । घरमा आएपछि लगातार टाउको दुख्न, श्वास फेर्न गाह्रो हुने तथा ज्वरो आउने समस्याले ग्रस्त बनायो । चार दिनसम्म निरन्तर आएको ज्वरो पाँचौँ दिनदेखि केही कम भयो । माघ ८ गते कोरोना सङ्क्रमण भएको जानकारी पाएँ । म माघ ३ गतेदेखि परिवारसँगबाट अलग्गै बस्दै आएको थिएँ । तर जीवनसङ्गिनीकोसमेत कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आयो । होम आइसोलेशनबाटै दर्जन बढी खोजी समाचार लेखेँ । समय कटाउन निकै समस्या भएको होम आइसोलेशनमा समाचार लेखेर पठाउँदा केही सन्तुष्टि मिल्थ्यो । सङ्क्रमणको समयमा चार दिन भने समाचार लेख्न सकिएन । होम आइसोलेशनमा बसिरहँदा मन निकै विचलन भएकोसमेत थियो । कोठामै नियमित व्यायम, तातोपानीको बाफ तथा झोलिलो खानेकुराले कोरोनालाई जित्न सफल भएँ र पुनः फिल्ड रिपोर्टिङमै फर्कें । होम आइसोलेशनमा बस्दा धेरै स्वास्थ्यकर्मी, अग्रज पत्रकार तथा आफन्तले फोनमार्फत सुझाव तथा सल्लाहसमेत दिइराख्नुभयो जसले कोरोना जित्न निकै सहज भयो ।

प्रतिक्रिया दिनुहोस