बुधबार, २० श्रावन २०७८

प्रधानमन्त्रीलाई आयोगको ब्रिफिङ : तोकिएको मितिमै निर्वाचन गर्न तयार छौं



काठमाडौं । निर्वाचन आयोगले तोकिएको मितिमै निर्वाचन गर्न तयार रहेको जानकारी दिएको छ । निर्वाचन तयारीबारे बारे बुझ्न आज आयोग पुग्नुभएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगले आउँदो वैशाख १७ र २७ गते निर्वाचन गर्न तयार रहेको जानकारी गराएको हो।

प्रधानमन्त्री ओलीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइोगसँग निर्वाचन गराउनुको विकल्प नरहेको बताउँदै आफूहरू अहिले निर्वाचन तयारीमै केन्द्रित रहेको जानकारी गराउनुभयो । छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीलाई तीब्र पार्न निर्वाचन आयोगलाई सुझाव दिनुभयो।

उपप्रधामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, कानूनमन्त्री लिलानाथ श्रेष्ठसहित आयोग पुग्नुभएको प्रधानमन्त्री ओलीले आयोगले अहिलेसम्म गरेको तयारी सन्तोषजनक रहेको र निरन्तर अघि बढ्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

थापका अनुसार प्रधानमन्त्रीले निर्वाचनका लागि आयोगलाई सबै प्रकारको सहयोग गर्ने बताउनुभयो। आजको भेटमा नेकपाभित्रको विवादका विषयमा भने कुनै छलफल नभएको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस