आयआर्जनको अभ्यासमा इलामका किसान



मङ्गलबारे । माई नगरपालिका–८ का सविन राई सन् २०१२ मा वैदेशिक रोजगारीका लागि मलेशिया जानुभयो । छ वर्ष विदेश बसाईंकै क्रममा उहाँ बिरामी पर्नुभयो । सामान्य उपचार मलेशियामा नै गरेपछि राई बिदा मागेर थप उपचारका लागि नेपाल आउनुभयो । उपचारपछि विदेश जाने सोच बनाएर आउनुभएका उहाँ हाल नेपालमा नै व्यावसायिक बङ्गुर पालेर बस्नुभएको छ ।

बिदामा बसेकै समयमा गाउँमा युवा सशक्तीकरण कार्यक्रम सञ्चालनको तयारी भइरहेको थियो । सोही समयमा पनि छरछिमेकीले उक्त कार्यक्रममा आबद्ध हुन आग्रह गरेकाले राई पनि सहभागी हुनुभयोे । जर्मन सरकारको सहयोगमा जिल्लास्थित मानव अधिकार मञ्च नेपालद्वारा उक्त कार्यक्रममा आबद्ध भएर तालिम लिएपछि दुई सुँगुरका पाठा खरिद गरिएको उहाँले जानकारी दिनुभयो । “रू पाँच हजार ५०० ले दुई वटा बङ्गुरका पाठाबाट काम सुरु गरेको हुँ”, राईले भन्नुभयो ।

व्यावसायिकरूपले बङ्गुर पाल्नका लागि थप पाठा खरिद गर्नुभएका राईलाई व्यवसाय सुरु गर्दा सोही परियोजनाले करिव रू १२ हजार सहयोग गरेको थियो । तालिम र बीउ पुँजीबाट हाल १५ वटा माउ सुँगुर र अन्य गरी ३० वटा सुँगुर पाल्नुभएका उहाँले हाल मासिक रू ३० हजारसम्म कमाउन थालेको बताउनुभयो । आफूले रकम कमाउनुभन्दा पनि बाटो देखाउने काम ठूलो भएको राईले बताउनुभयो ।

त्यस्तै वडा नं ९ चिसापानीकी रञ्जना राई पनि हाल व्यावसायिक बङ्गुरपालनमा लाग्नुभएको छ । पहिला एउटा मात्र बङ्गुर पाल्दै आउनुभएकी उहाँ सो कार्यक्रम सुरु भएपछि व्यावसायिकरुपमा नै सुँगुर पाल्न थाल्नुभएको हो । रन्जनाले अहिले १० वटा सुँगुर पाल्नुभएको छ । गएको चैत महिनाबाट व्यवसाय सुरु गर्नुभएकी उहाँलाई उक्त मञ्चको कार्यक्रमबाट रू पाँच हजार र माई नगरपालिकाबाट रू १२ हजार ४८५ सहयोग प्राप्त भएको थियोे । रन्जनालाई ऐले बङ्गुरपालन व्यवसायबाट खान, लाउन र घरखर्च चलाउन सहज भएको छ । मासुबाट भन्दा पनि माउ सुँगुरबाट बढी आम्दानी हुने महसुस भएर उहाँले बढी माउ सुँगुर पाल्नुभएको हो ।

उहाँहरु जस्तै धेरै किसानलाई उक्त कार्यक्रमले व्यावसायिक बन्न मद्दत गरेकोे छ । मञ्चले सन २०१९ बाट ती पालिकाका प्रत्येक वडामा १०ं÷१० किसान भेला पारेर उनीहरुको रुचिअनुसार बङ्गुरपालन, बाख्रापालन, कुुखुरापालन र तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरेको थियो । तालिमपश्चात् धेरे वैदेशिक रोजगारीसमेत त्यागेर गाउँमा नै उद्यमशीलतातर्फ लम्किएको मञ्चका जिल्लाअध्यक्ष मोहनसिंह थेवेले जानकारी दिनुभयो । उहाँले पुँजीभन्दा पनि उनीहरुलाई दिइने सीपले उद्यामशीलतातर्फ डो¥याएको बताउनुभयो । उद्यमशीलताको तालिम पाएपछि युवाको सङ्ख्यासमेत गाउँमा बढेको बताइएको छ ।

सुरुमा दुई स्थानीय तहमा सञ्चालित कार्यक्रम प्रभावकारी भएपछि अन्य दुई पालिकामा समेत कार्यक्रम थप भएको छ । आप्रवासी सामाजिक रुपान्तरणका लागि युवा परियोजना कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय किसान व्यावसायिक हुन थालेका हुन् । सन् २०२० बाट चुलाचुली गाउँपालिका र सन् २०२१ बाट माईजोगमाई गाउँपालिकामा कार्यक्रम थप गरिएको थियो । सन् २०२२ मा भने चुलाचुली र माईजोगमाई गाउँपालिकामा एकसाथ यो कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक सन्तोष मगरले जानकारी दिनुभयो ।

दुई वर्षसम्मका लागि सञ्चालित कार्यक्रम हाल स्थानीय सरकारकै मातहतमा रहने बताइएको छ । परियोजनाले सुरु गरेका गतिविधिलाई स्थानीय सरकारले नै निरन्तरता दिने भएको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएकालाई समेटने गरी कार्यक्रम सञ्चालन भइरहेको छ । विदेश जानबाट युवालाई रोक्ने परियोजना हैन तर विदेश जानै परे सुरक्षित भएर जान सचेतसमेत गराउने गरिएको बताइएको छ ।युवालाई कुलतबाट जोगाउन र सामाजिक कार्यमा अग्रसर गराउन यो कार्यक्रम सफल भएको मञ्चको जिकिर छ । स्थानीय पालिकासँग समन्वय गरेर उक्त मञ्चले जर्मन सरकार र ए डब्लुओ नामक अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो ।

विशेष गरेर १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवालाई सामाजिक कार्यमा लगाउँदै व्यावसायिक बन्न कार्यक्रम सफल बन्ने अपेक्षा गरिएको छ । परियोजना सञ्चालित स्थानीय तहमा युवा सशक्तीकरण समूह गठन गरी विभिन्न प्रकार सीपमूलक र उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन हुँदै आएको छ । प्रत्येक वडामा एक एक समूह र स्थानीयस्तरमा वडाको नेटवर्क हुने युवा सशक्तीकरण समूह छ । समूहसँगै युवायुवतीलाई स्वरोजगार बनाउने गरी परियोजनामार्फत हालसम्म ६६४ जनालाई उद्यमशीलता तालिम प्रदान गरिएको छ । तीनसय ५७ जनालाई सिपमूलक तालिमसमेत प्रदान गरिएको छ । स्थानीय तहसँगको सहकार्यमा भएको कार्यक्रमले लक्ष्यभन्दा बढी सफलता मिल्दै आएको छ ।

परियोजनाले आफ्नो समय अवधिभर ४४० जनालाई उद्यमशीलता तालिम दिने लक्ष्य लिए पनि स्थानीय तहले थप १२० जनालाई तालिमका लागि रकम र आवश्यक सामग्री उपलब्ध गराएको छ । हाल तालिम प्राप्त युवाले स्थानीय तह र घरेलु तथा साना उद्योग विकास कार्यालयमा आफ्नो उद्योग दर्ता गराउनसमेत थालेका छन्। परियोजनामा सहभागी ८० प्रतिशत बढी युवाले विभिन्न व्यवसाय दर्ता गरेर व्यावसायिक बन्न सुरु गरेको कार्यक्रम संयोजक मगरको भनाइ थियो ।

सन् २०१९ मा एक जना बराबर रू १० हजार, सन् २०२० र ०२१ मा एक जना बराबर रू १२ हजार ४८५ का दरले सहयोग गर्दै आएको बताइएको छ । हालसम्म जम्मा रू १३ लाख १० हजार ९२५युवालाई सामग्री खरिद भइसकेको र ती सामग्री कार्यक्रम सुरु भएका नयाँ स्थानीय तहमा प्रयोग हुने बताइएको छ । सामाजिक रुपान्तरणका लागि युवा जीविकोपार्जनका लागि लक्षित आप्रवासन र स्व–उद्यमशीलतासम्बन्धी युवा सशक्तीकरण समूहको क्षमता विकास र परिचालनमार्फत मानव बेचबिखनविरुद्ध अभियान नामक परियोजनाले युवालाई दक्ष बनाउँदै गएको छ ।

परियोजना सम्पन्न गर्न रू दुई करोड ९८ लाख १९ हजार ९२८ प्राप्त भएकामा सन् २०२१ मा प्रशासनिक खर्चतर्फ रू ३२ लाख ३३ हजार २४७ खर्च गरिनेछ । कार्यक्रमतर्फ रू ८४ लाख, ८८ बजार ५०० खर्च हुने भएकामा प्रशासनतर्फ ३५ प्रतिशत र कार्यक्रमतर्फ ६५ प्रतिशत खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस