सोमबार, ०१ कार्तिक २०७८

बाले जुत्ता छोडेनन्, छोराछोरीले जुत्तै छोएनन्



विराटनगर / व्यस्त राजमार्ग । बिहानको ९ बज्न केही समय बाँकी छ । रुटमा चल्ने गाडी, विभिन्न पेशा, व्यवसाय, अध्ययन र मजदुरीका लागि राजधानी प्रवेश गर्नेहरूको घुईंचो लाग्दै छ । बस, कार, मोटरसाइकल, सिटीसफारी र साइकल सबैको ध्यान गन्तव्य छिचोल्ने नै छ । अधिकांश राजधानी छिर्ने र केही राजधानी बाहिरिने सवारी देखिन्छन् । यही व्यस्त सडक हुँदै आएको एउटा साइकल भने राजधानी छिर्नबाट रोकिन्छ । साइकल चालक सीमा जोडिएको राजधानीलाई चुनौती दिँदै आफ्नो भविष्य सीमामा नै खोज्ने निर्णयमा पुग्छन् ।

साइकलको अगाडि झुण्डिएका बोराको झोला निकाल्दै भुइँमा बिसाउँछन् । त्यहाँबाट निस्किन्छन्, बोरा जोडेर बनाइएको ओछ्यान, दुई छाता, एउटा मुढा र केही अन्य सामग्री । अनि सुरु हुन्छ, उनको व्यवसाय त्यही सडक किनारमा । यसरी सुरु भएको व्यवसाय चलेको पनि वर्षौँ बिते छ । व्यवसायले दिने आम्दानी पनि बढेको छ । तर, दैनिकी भने उस्तै छ । अनि उस्तै छ, विगतको आम्दानीले धान्ने अवस्था र अहिलेको आम्दानीले धानेको आर्थिक अवस्था । उ बेलाको कमाइ अनि अहिले महंगीले अवस्थालाई ज्यूँका त्यूँ राख्न भूमिका खेलेकै छन् ।

‘जे जस्तो भए पनि परम्परागत पेसाबाटै जीवन चलेकै छ’, मोरङको कटहरी गाउँपालिका–३ का ४२ वर्षीय अशोकराम मोची धुलो छोप्न लगाइएको मास्क अलि तल झार्दै भन्छन्, ‘तर, अब परम्परागत पेसा गर्नेहरू भेटिँदैन होला ।’ सिंगीया खोलाको पूर्वतिर विराटनगर–रंगेली सडक किनारमा बसेर जुत्ता चप्पल मर्मत गर्दै आएका अशोकले यही पेसाबाट घरपरिवार चलाउँदै आएका छन् ।

दुई छोरी, एक छोरा र श्रीमतीसहित पाँचजनाको परिवार आफ्नै समुदायसँग तुलना गर्दा सन्तोषजनक रूपमा नै पालिएको उनको बुझाइ छ । दिनभर धुलो र धुवाँकै बीच काम गरेर भए पनि उनले छोराछोरीलाई सुनौलो भविष्यका लागि भन्दै निजी विद्यालय नै पढाए । ठूलो छोरा स्नातक तहमा अध्ययन गर्ने मात्र नभई कमाउनेसमेत भएकोमा अशोक दङ्ग छन् । ‘पढ्दै पनि छ, ट्युसन पनि पढाउँदै छ, उनले भने हिजोआज त बेलुका पनि ‘पार्ट टाइम’ कता हो कम्प्युटरको काम पनि गर्छ रे’, उनी भन्छन् ।

यस्तै जेठी छोरी विद्यालय शिक्षा सकेर ब्यूटिपार्लरमा काम गर्दैछिन् भने कान्छी छोरी अहिले कक्षा १२ मा अर्किड कलेजमा अध्ययनरत छिन् । पुखौँली पेसा हो, जुत्ता चप्पल सिलाउने । तर, उनलाई यही पुर्खौली पेसा अब सन्तानले पनि गरून् भन्ने लागेको छैन । यो पेसाबाट मात्र जीवन चल्छ, थप प्रगतिको लागि विकल्प खोजेकै राम्रो हो भन्ने उनको बुझाइ छ ।

विगतमा कतिपय दिनहरू पीडादायी पनि थिए । तर, ति दिनलाई सम्झन नचाहने अशोक आफूले जे जति गर्न सके त्यसमै सन्तुष्ट छन् । यो पेसालाई उद्योगका रूपमा विकास गर्न सकिने उनी बताउँछन् । त्यसो त स्नातकोत्तर तहलाई समाजशास्त्र अध्यापन गराउँदै आएका सहप्राध्यापक डिल्ली प्रसाईं पनि परम्परागत पेसालाई जोगाई राख्न मुस्किल हुने बताउँछन् ।

‘प्राविधिक जनशक्तिको रूपमा काम लगाउन खोजिएको पाइन्छ । तर, अहिलेसम्म आइपुग्दा धेरैवटा व्यवस्था परिवर्तन भए । सँगै नविनतम प्रविधिहरू भित्रिएका छन् । विश्व नै एउटा गाउँको रूपमा विकास भएको छ । संसारको जुनसुकै ठाउँमा बनेको बस्तु संसारभर सहजै पुग्न थालेका छन् । सँगै मानिसहरूसँग विकल्प पनि प्रशस्त छन् । जुनसुकै पेसा जो कोहिले गर्न पाउँछ । त्यसैले परम्परागत पेसाहरू संकटमा पर्दै जानु स्वभाविक हो’, उनी भन्छन् ।

यस्ता पेसा व्यवसाय नेपालको संस्कृति पनि हो । यसको संरक्षणका लागि राज्यले पनि ध्यान दिन सक्नुपर्छ । परम्परागत पेसालाई अपनाउँदै आएकाहरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाएर अघि बढाउन आवश्यक छ । त्यसो गर्न सक्दा ति उत्पादनले पनि राम्रो बजार पाउनसक्ने उनको विश्वास छ । प्रतिस्पर्धी आधुनिक बजारमा परम्परागत उत्पादनले प्रतिस्पर्धा गर्न मुस्किल हुन्छ । यस्ता उत्पादनहरूको लागत निकै बढी हुन्छ, तर टिकाउ पनि हुन्छन् । त्यसैले आवश्यक कच्चा पदार्थको उपलब्धता र प्रविधियुक्त उत्पादनमा जोड्न सके यसले राज्यलाई नै सहयोग पुग्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस