बुधबार, ०२ असार २०७८

सन्ततिका हातमा सीप छाडेर जान चाहन्छन् कुम्हालेहरु



भक्तपुर । लोप हुँदै गएको माटाका भाँडा बनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन्, भक्तपुर पोटरी स्क्वायरका कुम्हालेहरुले । हरेक दिन बिहानैदेखि यहाँका कुम्हालेहरु माटाका भाँडा बनाउन तल्लीन रहेको भेटिन्छन् ।

पैंतालीस वर्षीया मायादेवी प्रजापति आफ्ना श्रीमान् बुद्धिरामसँगै एकाबिहानै माटो खेलाउन थाल्नु हुन्छ । सासूसहित दुई छोरा र दुई छोरी गरी ७ जनाको प्रजापति परिवारको घरखर्च यसै कामले धानेको छ । बाजेबराजुदेखि नै चलिरहेको माटाको भाँडाकुँडा बनाउने यो पेशालाई आफूले निरन्तरता दिँदेै आएको बुद्धिराम सगर्व बताउँछन् । यस पुख्यौली पेशाप्रति उनीहरुको ठूलो लगाव छ । त्यसकारण आफू भन्दा पछिका सन्ततिलाई त्यो सीप सुम्पेर जाने सोच प्रजापति दम्पतीले बनाएको छ । “बाबुबाजेदेखि चलिआएको परम्परा जोगाउनु हाम्रो धर्म हो,” बुद्धिराम भन्नुहुन्छ ।

स्नातक तह अध्ययन गरिरहेका उहाँका छोरीहरुले पनि फुर्सदको समयमा माटाका भाँडा बनाउने काममा सघाउने गर्छन् । मायादेवी माटाका भाँडा बेचेर महिनाको २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने बताउनुहुन्छ । सिभिल इन्जिनीयरिङ्मा स्नातक उत्तीर्ण मायादेवीका छोरा रुपेशले आफ्ना भाइ रुपेनसँग मिलेर माटाका भाँडा बनाउने आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै आउनुभएको छ ।

पोटरी स्क्वायरमै विष्णुप्रसाद प्रजापतिले पनि माटाको भाँडा बनाउने कामलाई मुख्य पेशाको रूपमा अङ्गाल्दै आउनुभएको छ । उहाँका पुर्खाले पनि यसैलाई पेशा बनाएका थिए । दश वर्षको उमेरदेखि नै माटो र चक्रसँग खेल्दैआएको छु भन्नुहुन्छ विष्णुप्रसाद । उहाँका बुबा गणेशकुमार प्रजापति अझै पनि माटाको भाँडा बनाउने काम गर्नुहुन्छ । सानो आकारका भाँडा भए दुबैजना खट्दा दिनमा ५०० वटा जति बन्दोरहेछ । विष्णुप्रसादका अनुसार महिनाको आम्दानी पचास हजार रुपैयाँ जति हुुन्छ र ती भाँडाहरु पोखरासम्म पुग्छ ।
पोटरी स्क्वायरका कुम्हालेहरुले हाँडी, अम्खोरा, खुत्रुके, करुवा, गमला, दियो, पानस, घ्याम्पा, गाग्री, गिलास, झुमर, धूपौरो र देवदेवी मूर्तिहरु बनाउँछन् । पोटरी स्क्वायरका अतिरिक्त यहाँको च्याम्हसिंह र ठिमीमा पनि माटाको भाँडा बनाइन्छ । सजावटका सामानहरुको ठूलो हिस्सा विदेश निर्यात हुन्छ । विगतमा अत्यधिक मात्रामा घरायसी प्रयोगमा आउने यस्तो भाँडाहरुको ठाउँ विस्तार विस्तारै प्लास्टिकका सामग्रीले ओगट्न थालेको पाइन्छ । नेपाली समाजमा पर्व र धार्मिक क्रियाकलापमा कतिपय माटाका भाँडाहरु नभै हुँदैन ।

यहाँका कुम्हालेहरुले भाँडा पोल्न भट्टा निर्माण समिति बनाएका छन् । पोटरी स्क्वायरमै तीनवटा सामूहिक भट्टा छन् । सानो भट्टा प्रयोग गर्दा सात सय रुपैयाँ र ठूलो भट्टामा नौ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

पहिला माटोको भाँडा बनाएर घरखर्च चलाउन निकै गा¥हो महसुश गरेका यहाँका कुम्हालेहरु आजभोलि आफ्नो पेशाप्रति सन्तुष्ट देखिन्छन् । माटाका भाँडाहरुको खुद्रा र थोक बिक्री दुबै चल्ने भएकाले बजारको त्यत्ति ठूलो चिन्ता उनीहरुलाई छैन । यस परम्परागत पेशालाई जोगाउनतर्फ सरकारले ध्यान दिन ढिलो भइसकेको र त्यस नभए यो पेशा कालान्तरमा गएर लोप हुने चिन्ता भने उनीहरुको छ ।

भाँडा बनाउन चाहिने कच्चा पदार्थ माटोको सहज उपलब्धता उनीहरुले सामना गर्दै आएको समस्या हो । भक्तपुरको दुवाकोट, साँखु र ललितपुरबाट उनीहरुले माटो ल्याउने गरेका छन् । सरकारका तर्फबाट कुनै एक निश्चित ठाउँको माटो मात्र प्रयोग गर्न सुझाएको छ । तर, त्यसरी आफ्नै लगानीमा जग्गा लिन संभव नभएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस