भवन बनाउन जग्गा दान



महोत्तरी । आफ्नै बसोबासको नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि एक महिलाले एक करोडभन्दा बढी मूल्यको जग्गादान गर्नुभएको छ ।भङ्गाहा नगरपालिका–५ सीतापुर बजारकी फुली साह सुँडीले सो मूल्यको जग्गा दान गर्नुभएको हो । उहाँले आइतबार मालपोत कार्यालय बर्दिबासमा पुगेर नगरपालिकाका नाउँमा हाल भङ्गाहा–५ मै रेल्वे स्टेसन नजिकको १० कठ्ठा १९ धुर जग्गा रजिष्ट्रेसन गरी दिनु भएको हो ।

आफ्नो जग्गा र भवन नहुँदा यसअघि भाडामा लिइएको घरमा सञ्चालन हुँदै आएको कार्यालय केही महिना पहिले नगरप्रमुख सञ्जिवकुमार साहले आफ्नो निजी भवनमा सार्नुभएको थियो । अहिले जग्गा प्राप्त भएपछि अब आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताउनुभयो ।

“अब जग्गा भयो, नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण प्रक्रिया अघि बढ्छ”, उहाँले भन्नुभयो । नगरप्रमुख साहले प्रशासकीय भवन निर्माणको काम अब थालिने जानकारी दिनुभयो । जग्गादाता नगरप्रमुख साहकी आमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस