शनिबार, ०९ असोज २०७८

हाम्रो घरका बिरालाहरु देउवाको भान्सामा म्याउँ गर्न पुगे : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको भान्सा खान पुगेको बिरालोको संज्ञा दिनुभएको छ ।
एमालेको काठमाडौं जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्नुहुँदै ओलीले नेता माधव नेपालले केही खान पाइन्छ की भनेर पार्टी विभाजन गरेको बताउनुभयो ।

‘हाम्रो घरका बिरालाहरु शेरबहादुर देउवाको भान्सामा देखिन्छन्। दूध र भात खान पाइन्छ भनेर म्याउँ गर्दै पुगेछन्’ उहाँले भन्नुभयो, ‘माधव नेपालको जिम्मा नै एमाले बदनाम गराउने हो। एमालेको चरित्र हत्या गर्नु हो।’

ओलीले आगामी दिनमा आफ्नो पाटी झन् बलियो हुने बताउनुभयो  । ‘आगामी दिनमा अझै ठूलाठूला सफलता प्राप्त गर्छौं । अहिले पनि पार्टी फुटेको होइन । केही बिग्रिएका तत्वहरू गएका हुन् । चोइटिएका हुन् । अहिलेको सरकार ल‌गुंरमा दौड्नेहरूको सरकार हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले माधव नेपालहरू स्वार्थ पूरा गर्न नसकेपछि छुट्टिएका बताउनुभयो । साथै, अध्यक्ष ओली अहिलेको सरकार ‘जनतामारा’ सरकार भएको बताउनुभयो । उहाँले अहिलेको सरकारले भूमि आयोग खारेज गरेर जनताका समस्या कायमै राख्न खोजेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले अघिल्लो सरकारले गरेका विकास निर्माण कामलाई अहिलेको सरकारले अगाडि नबढाएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस