सोमबार, १३ मंसिर २०७८

विचरा माधव नेपाल : पार्टी चोइट्याउने अनि किन रूँदै हिंड्ने ?



जनताको प्यारो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एमाले) चोइट्याएर एउटा कोटरी पार्टी बनाएको एक हप्ता पनि नवित्तै माधव नेपाल सार्वजनिक समारोहमै धुरूधुरू रुन थालेका छन् । आफूलाई एमालेको दोस्रो पुस्ताले छोड्यो, धोका दियो भनेर ललितपुरको एउटा कार्यक्रममा भक्कानिएर रोएका माधव नेपालको आगामी यात्रा हाँसोको हुने छैन, केवल रोदनको मात्र हुनेछ । गल्ती महसुस गरेर एमालेमै नफर्किउन्ज्याल उनको हालत यही हुनेछ ।

०४६को जनआन्दोलन सफल भएदेखि नै नेकपा(एमाले)को सम्पूर्ण पङ्क्तिले माधव नेपाललाई अग्र पङ्क्तिमा राखेर जयजयकार गर्दै आएको हो । उनले चाहेको पद दिंदै आएको हो । लामो समयको पार्टी नेतृत्व सुम्पियो, प्रधानमन्त्री बनायो ।

यो अवधिमा उनले एमालेका विशाल जनसागरलाई सम्बोधन गरे, विभिन्न निर्देशन जारी गरे, पार्टीको प्रतिनिधित्व गरेर संसार घुमे । त्यो अवधिमा वर्तमान एमाले अध्यक्ष के पी शर्मा ओलीलगायत अरू एमाले नेताले खुरुखुरु नेता मानिदिनु पर्‍यो, उनको आदेश मानिदिनु पर्‍यो । तर जब पार्टीको नवौं महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गर्‍यो, तब उनले ओलीको नेतृत्व मान्न अस्वीकार गरे, विद्रोह गरे, आफ्नो पार्टीको सरकार ढाल्न विपक्षीको एजेन्ट बने र अन्त्यमा पार्टी नै चोइट्याएर हिंडे ।

तिनलाई थाहा नभएको होइन, पार्टी विभाजनको हर्कत्‌लाई नेपाली जनताले मन पराउँदैनन् । पार्टी विभाजनको औचित्य पुष्टि उनले कुनै हालतमा गर्न सक्दैनन् । तर उनमा रहेको इगो र कुण्ठाको कारण उनी आज भड्खालोमा परे । ‘म नेता हुँ नेता’ भनेर भ्यागुत्तो फुलेझैं फुल्दाफुल्दै अकल्पनीय ढङ्गले फसे ।

यहाँ सानो छँदा पढेको ‘गोनु झा’को कथा स्मरण हुन्छ । कुनै कारणले एक पटक ब्राम्हण गोनु झा इनारमा खस्छन् । उनलाई इनारबाट बाहिर ल्याउन गाउँलेहरू इनारको वरिपरि जम्मा हुन्छन् । गोनु झालाई हात दिन सबैले आग्रह गर्छन् । जति आग्रह गर्दा पनि गोनु झाले हात दिदैनन् । सबै छक्क पर्छन् । आखिर एकजना गाउँका जेष्ठ नागरिकले समस्या पत्ता लाउँछन् । उनले सुझाए- गोनु झाले दिन जानेकै छैन । लिनमात्र जानेको छ । त्यसकारण तिमीहरू उनलाई हात देओ, अनि उनी तिमीहरूको हात समातेर इनार बाहिर आउँछन् । गाउँलेले त्यसै गरे र गोनु झा इनार बाहिर आए ।

माधव नेपालले जीवनमा दिन जानेकै छैन, लिनमात्र जानेको हो । एमालेका सबैको समर्थनमा बन्नु पर्नेजति सबै बनेका नेपाल आज ओलीलाई समर्थन दिन नजानेर असफलताको गहिरो इनारमा परेका छन् । र छोटो अहवधिमै रोइलो गर्न थालेका छन् ।

हिजो एमालेका भीमकाय भेला सभालाई सम्बोधन गरेका माधव नेपाल आज एक दुई दर्जन मानिस बटुलेर आँसु मिसाएको भाषण गर्दैछन् । जवानीमा जङ्गलमा ठुलाठुला शिकार गरेको सिंहले बुढो भएपछि ज्यान जोगाउन झींगा टिपेजस्तै । ‘एमाले सिध्याउने’ हाँसोलाग्दो हुङ्कार गर्दैछन् ।

आफ्नामात्र बर्कत् र बुताले बाहिर आउन नसक्ने खाडलमा परेका माधव नेपाललाई अहिलेका घठबन्धनका कोही नेताले उद्धार गर्ने छैनन् । किनभने प्रचण्ड, देउबा, उपेन्द्र, बाबुराम सबै गोनु झाजस्तै लिनमात्र जान्ने, दिन नजान्ने क्याटेगोरीका नेता हुन् ।

समकालीन नेपाली राजनीतिमा दिन पनि सक्ने लिन पनि सक्ने एकमात्र नेता त के पी शर्मा ओली हुन् । माधव नेपाललाई वोक्दा-बोक्दा संभवतः उनको काँध सबभन्दा बढी गलेको हुनुपर्छ ।

नेता होइरहन जनताको समर्थन चाहिन्छ । चुनावमा जनताको अभिमत चाहिन्छ । भालेश्वरमा भाँडाकुटी खेलेर माधव नेपालले बनाएको ‘पार्टी’ले त्यस्तो अभिमत पाउने कुनै संभावना छैन । किनभने उनीसँग विचार छैन, अजेण्डा छैन । मैले पद पाइन भनेर जनतामा उनले कुन मुखले जानु ?

माधव नेपाल खाडलमा परेकोमा एमाले पङ्क्तिलाई चित्त दुखेकै छ । उनको उद्धार भए हुन्थ्यो भन्ने लागेकै छ । नेकपा(एमाले)का अध्यक्षले हात दिएर उनलाई तानिदिए हुन्थ्यो भन्ने लागेकै छ । विनाकाम निहुँ खोजेर घर छोडेर हिंडेको कुनै बेलाको घर मूलीको विजोग टुलुटुलु हेर्न परिवारका कसलाई रहर हुन्छ र !

प्रतिक्रिया दिनुहोस