मंगलबार, १२ असोज २०७८

माधव नेपालको पार्टीले टुंग्यायो मन्त्री बन्नेको नाम : यी ६ जना बन्दैछन् मन्त्री



काठमाडौं । नव गठित नेकपा (एकिकृत समाजवादी) ले सरकारमा पठाउने नेताहरुको नाम टुंगो लगाएको छ । सरकारमा ६ मन्त्रालय पाउने निश्चित भएको एकिकृत समाजवादीले मन्त्री बन्ने ६ जना नेताकै नाम टुंगो लगाएको हो ।

६ वटा मन्त्री र एक राज्यमन्त्री पाउने बताएको एकिकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै भएकोले टुंगो लागिसकेका नेताहरुको नाम सार्वजनिक नगरिएको पार्टी श्रोतले बताएको छ । मन्त्री बन्ने ६ जना नेताको नाम टुंग्याएर राज्यमन्त्री बन्ने एक जनाको मात्रै विकल्प रहेको बताइएको छ ।

गठबन्धन सरकारमा एकिकृत समाजवादीले कुन–कुन मन्त्रालय पाउने भन्ने पक्का नभएकोले मन्त्रीहरुको बरियता के हुने भन्ने एकिकृत समाजवादीले टुंग्याउन सकेको छैन । हाल मन्त्री बन्ने पक्का गरिएका भनिएका नामहरुमा जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेम आले रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हालि सकेका श्रेष्ठ काठमाडौंको क्षेत्र नं। ८ बाट विजयी सांसद हुन् भने खतिवडा मकवानपुर जिल्लाको क्षेत्र नं। २ बाट विजयी सांसद हुन् । चौधरी दाङबाट, श्रेष्ठ तनहुँबाट र आले डोटीबाट निर्वाचित सांसद हुन् भने विद्यार्थी राजनीतिबाट आएकी झाँक्री समानुपातिक सांसद हुन् ।

केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका आले आफूलाइै ओलीले रातारात मन्त्रीबाट हटाएको भन्दै आक्रोशित थिए । ओली निकट रहेका आलेले प्रधानमन्त्री शेर बहादुर देउवाले संसदबाट विश्वासको मत लिदा ओली क्याम्प छोडेका थिए ।

ओलीकै निकटमा रहेका किसान श्रेष्ठ माथी अघिल्लो वर्ष महेश बस्नेत र सर्वेन्द्र खनालको साथमा लागेर जनता समाजवादीका सांसद अपहरण गरेको आरोप लागेको थियो । ओली इतरका नेताहरुको चर्को आलोचना गर्ने उनी पनि हाल क्याम्प परिवर्तन गरेर मन्त्री बन्ने लाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस