सोमबार, ३१ जेठ २०७८

मन्त्रिपरिषद् विस्तार हुँदै : रिक्त आठमध्ये ७ मन्त्रालयमा नियुक्तिको तयारी



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू माताहत राख्नुभएका ८ मन्त्रालय मध्ये केहीमा मन्त्री थप्ने तयारी गर्नुभएको छ । सम्भवतः आज साँझसम्म मन्त्री थपेर पद तथा गोपनीयताको शपथ गराउने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले अनौपचारिक छलफल जारी रहेको र कुरा मिले आजै मन्त्रिपरिषद विस्तार हुनसक्ने बुझाई एमालेका नेताहरुको छ । प्रधानमन्त्रीसँग सातवटा मन्त्रालय रहेको तर आकांक्षी धेरै भएकाले कुरा मिलाउन केही समय लाग्ने बालुवाटार स्रोतले बताएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार मन्त्रीपरिषद विस्तारको तयारी प्रधानमन्त्री ओलीले गर्नु भएपनि मन्त्री बन्ने सूची अन्तिमरुप पाइसकेको छैन । सम्भव भएसम्म आज साँझसम्म शपथ गराउने तयारी सुनेको थिएँ, तर आजै सम्भव नभएमा अर्को दिनलाई सर्न सक्ने उहाँले बताउनुभयो । नेता माधवकुमार नेपाल पक्षका नेताहरुसँगको अनौपचारिक छलफल जारी रहेको र माओवादीबाट एमाले प्रवेश गरेका केही नेताहरुलाई समेत जिम्मेवारी दिने गृहकार्यले केही ढिलाई भएको बताइएको छ ।

विस्तार हुने मन्त्रिपरिषदमा मन्त्रीको जिम्मेवारी पाउने संकेत पाइसक्नुभएका नेताहरु तयारी अवस्थामा आफूहरु बसेको बताउनुभएको छ । यसअघिसम्म आज आइतबार साँझसम्म शपथ हुनसक्ने जानकारी प्राप्त भएपनि अहिलेसम्म त्यो खवर आइनपुगेको उहाँहरुको भनाई छ । आफूहरु बालुवाटारको खवरको प्रतिक्षामा रहेको उहाँहरुले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले आफूसँग रक्षा, गृह, कृषि तथा पशुपन्छी विकास, उद्योग बाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय राख्नुभएको छ । सो मन्त्रालयको जिम्मेवारीका लागि एमाले नेताहरु अहिले दौडधुपमा रहनुभएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफूसँगै राखेर बाँकी मन्त्रालयको जिम्मेवारी बाँडफाँटको तयारी गर्नुभएको बताइन्छ ।

यो चुनावी सरकार भएकाले अहिले गृह मन्त्रालय महत्व अझ बढी छ । आगामी निर्वाचन सम्पन्न गराउन सक्ने आँटिलो मन्त्रीको खोजीमा प्रधानमन्त्री ओली लाग्नुभएको बुझिएको छ ।
पूर्वमन्त्री गोकुल बाँस्कोटा, महेश बस्नेत, खगराज अधिकारी, कर्ण थापा लगायत मन्त्री बन्ने सम्भावना रहेको एमाले स्रोतले बतायो । गृह र सञ्चार मन्त्रालयमा धेरै नेताको दाबी रहेको स्रोतले बतायो ।

प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार डा। आरजू देउवालाई पराजित गरेका नारदमुनी राना, विघटित प्रतिनिधि सभाका सदस्य राजेन्द्र गौतम लगायतको नाममा पनि छलफल भइरहेको स्रोतले बतायो ।

यस्तै विद्या भट्टराई, शान्ता चौधरी, राधा ज्ञवालीलगायत महिला नेतृहरू पनि मन्त्रीका लागि आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस