बुधबार, २२ मंसिर २०७८

नारायणगढ –मुग्लिन सडक दुवैतर्फ सञ्चालनमा



चितवन । बिहीबार बेलुकादेखि सेती दोभानमा गएको पहिरो बिहानदेखि पन्छाएर नारायणगढ मुग्लिन सडक सञ्चालनमा ल्याइएको छ । आज बिहान साँढे पाँचदेखि पहिरो पन्छाउन सुरु गरी सवा ९ बजे पहिरो पन्छाई दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय,चितवनले जानकारी दिएको छ ।

कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले दुबैतर्फ सवारीको अत्यधिक चाप बढेको र सडकको बीचबीचमा सवारी साधन रहेकोले पनि अविरल वर्षाका बीच पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो  । ‘सवा ९ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी छ, तर अझैपनि लेदो बग्ने क्रम जारी छ । हेरौँ कति समयसम्म सडक सञ्चालन गर्न सकिन्छ ?’ उहाँले भन्नुभयो ।  सोही ठाउँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बनेको ट्राफिक प्रहरीले जानकारी दिएका छन् ।

बिहान साँढे चार बजेतिर सो सडक खण्डको  पाँच किलो भन्ने स्थानमा  समेत सुख्खा पहिरो गएको थियो । सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा आएको थापाले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभान बिहीबार  बेलुका ८बजेर २० मिनेटमा पहिरो गएको हो ।

प्रतिक्रिया दिनुहोस