सोमबार, ०१ कार्तिक २०७८

मुगुमा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो



मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ तपने खोलामा आज यात्रुवाहक बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा छायाँनाथ रारा नगरपालिका–१ का १८ वर्षीया  मिञ्जुु मल्ल, सोही नगरपालिका वडा नं. ७ का १७ वर्षीया सुनिता बम र वडा नं. १० का अमर साउँद रहेका छन् ।

त्यस्तै सोही नगरपालिकाकै १८ वर्षीया भग बम, तेजी लाल विक, नवीन बुढा, वडा नम्बर ७ कै एकै घरका अमृता शाही, महेन्द्र शाही र नाम नखुलेका एक बच्चा रहेका छन् ।

यसै गरी वडा नं. १० जिउलाका सुन विक र वडा नं. ६का राममाया धामीको मृत्यु भएको र बाँकी मृतकको सनाखत हुन नसकेको रेडियो नेपालका सम्वाददाता विनोद मल्लले जानकारी दिनु भएको छ ।

दुर्घटनामा कयौँ यात्रु घाइते भएका छन् ।  घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल गमगढी पठाइएको छ । नेपालगन्जबाट मुगुको सदरमुकाम तर्फ जाँदै गरेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीयहरू उद्धारका लागि जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस