बुधबार, २२ मंसिर २०७८

सङ्खुवासभा हत्या प्रकरण : घटनाको अनुसन्धान गर्दै सिआईबी टोली

शव पोस्टमार्टमका लागि धरान लैजाँदै



सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको दर्दनाक घटनाको प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ । सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।
अति नै विकट एवं दुर्गम घटनास्थलमा सोमबार साँझ ७ बजेतिर पुगेर दाहाल नेतृत्वको टोलीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’डग पिकु र लैलालाई प्रयोग गरेको छ । तर निरन्तरको वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धान प्रभावकारी हुनसक्ने अवस्था नरहेको बताइएको छ । यद्यपि घटनास्थल पुगेको प्रहरीको विशेष टोलीले भने घटनाको नजिक पुगिएको उल्लेख गरेको छ ।
घटनाको अनुसन्धानमा सङ्खुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडा पनि खटिएका छन् । धरानबाट प्रहरीको विशेष टोली पुग्नुअघि सङ्खुवासभा प्रहरीले शव नचलाईकन घटनास्थलको सुरक्षा मात्रै दिएको थियो ।
यसैबीच हत्या गरिएका ६ जनाकै शव मंगलबार बिहानसम्म घटनास्थलमै छ । प्राय शवहरू घोप्टो परेको अवस्थामा भेटिएका छन् । अनुसन्धान सुरु गरेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरेको छ ।
८५ वर्षीय बौदमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने क्रूरतापूर्वक तरिकाले हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौदमानकी पत्नी ८४ वर्षीय पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीय कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीय रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीय गोमा कार्कीको हत्या भएको हो । एउटै परिवारका ६ जनाको हत्या भएपछि पुरै गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताउनुभयो ।
‘सिङ्गो गाउँमा सन्नाटा छाएको छ । कसैले पनि यस्तो दर्दनाक घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैनौँ,’ उहाँले भने, ‘घटना देखेका र सुनेका छिमेकीहरू कसैको घरमा चुल्हो बलेको छैन। आफ्नो गरेर खाइरहेको सिङ्गो परिवार नै सखाप बनाइएको छ ।’ घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको जानकारी वडाध्यक्ष कटुवालले दिनुभयो ।
उहाँका अनुसार हत्या बिहान वा राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ । वृद्ध अवस्थाका बौदमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताएका छन् । बेलुकासँगै खाना खाएर सुतेको र बिहान हेर्दा श्रीमती ९पार्वती०लाई मृत फेला पारेपछि छिमेकीलाई खबर गरेको उहाँले बताउनुभएको छ । हत्या गरिएकामध्ये पार्वतीको शव घरभित्रै थियो । काम गर्न जाँदा लगाउने कपडा र गम्बुटसमेत लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटियो। कमला र रञ्जनाको शव घरनजिकको खोलामा भेटिएको थियो । दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ । मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो ।
स्थानीय र प्रहरीले सबै जनाको हत्या भाग्दाभाग्दै भएको हुनसक्ने अनुमान गरेका छन् । अर्थात् लखेटी लखेटी मारिएको पनि हुनसक्ने प्रहरीले बताएको छ ।
प्रहरीले आर्थिक पाटोका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ । तेजबहादुरका दुई छोराहरू जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ । नरेशकी श्रीमती मुना भने झापामा बस्छिन् । कार्की परिवारले झापामा जग्गा किन्नलाई बैना गरिसकेको पाइएको छ । जग्गा किन्नलाई घरमा पैसा राखेको हुनसक्ने भएकाले सबैको हत्या गरेर लुटपाट गरिएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

प्रतिक्रिया दिनुहोस