बुधबार, ०२ असार २०७८

माधव नेपाल अर्थात साधुको भेष धारण गरी सीता हरण गर्न खोज्ने नयाँ रावण !



खोरको  पाठो हराउनु र बनमा बाघ कराउनु एकैचोटी परेपछि अन्त ध्यान जाँदैन l फेरि संयोग मात्र ठानेर कानमा तेल हालेर बस्नु पनि बुद्धिमत्ता भएन l

हिजो बुटवलको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेछन् – ‘माधवजीहरूले छिट्टै एमाले कब्जा गरेर ओलीलाई हटाउनु हुन्छ, नसके एमालेबाट विद्रोह गर्नुहुन्छ’ l

त्यसपछि बल्ल हामी मिलेर आन्दोलनकारी शक्ति बनाइन्छ l उहाँहरूलाई अहिले अप्ठ्यारोमा पार्ने गरी उहाँहरूका कुनै पनि कार्यकर्ताहरूलाई हाम्रो पार्टीमा नभित्र्याउनु होला l

सै त माधव कमरेडहरूलाई संसद विघटन अघि र पछि पनि पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर कुम जोडेर पाँच दशकदेखिका आफ्ना दुःखसुखका सहयात्री क. केपी ओली विरुद्ध मोर्चा बन्दी गर्दै आफ्नै पार्टीको सरकारलाई धराशायी गराउन भूमिका खेलेको र सर्वोच्च अदालतको फैसलापछि धूमधामसँग पेरिस डाँडामा प्रचण्डसँग बिदाइ समारोह सम्पन्न गरेर प्रचण्डको मन्त्र आत्मसात् गर्दै आँसुका धारा सहित फेरि छिट्टै भेटौँला है भन्दै घर आएको बात लागेको थियो l पछिल्लो घटनाले सम्पूर्ण एमालेजनलाई अझै निराश तुल्याएको थियो l

प्रचण्डले फुत्काएको यो अभिव्यक्तिबाट पनि माधव कमरेडहरू प्रति गरिएको आशङ्का आधारहीन रहेनछ भन्ने कुरा झल्किन्छ l कहिलेकाहीँ घैँटाको मुख थुन्दा थुन्दै पनि छलकपटका गोप्य रहस्यहरू कतै न कतैबाट छचल्किँदा रहेछन् l

के माधव कमरेडहरूले आफैँले हुर्काएको नेपाल र संसद्को समेत सबैभन्दा ठुलो र व्यवस्थित पार्टी नेकपा एमालेलाई क्षतविक्षत पारेर गुरु दक्षिणाको रूपमा किस्तीमा राखेर प्रचण्डको पाउमा चढाउँनै खोजेको हो त ? यदि यस्तो हो भने एमालेका लाखौँ लाख कार्यकर्ताहरूले पार्टीको ढाल बनेर जो सुकैको पनि दुष्प्रयासलाई चकनाचुर पारिदिने छन् l साधुको भेष धारण गरी सिता हरण गर्न खोज्नु अहिलेका नयाँ रावणहरूलाई त्यति सजिलो छैन l

पार्टीको मूल नेतृत्व विरुद्ध अनाहकमा आरोप पत्र दर्ज गराई सत्तोसराप गर्दै अन्तै डेरा जमाउनु भएका माधव कमरेडहरूले घर आएपछि पनि आँफु आत्माआलोचित हुनुको साटो भए नभएका अनेक गनफसे कुतर्क गरेर पार्टी एकता विरुद्ध प्रचण्डको छलछाम र अहङ्कार विरुद्ध लडेका शिर्षनेता र कार्यकर्ताहरूलाई घुर्की लाउने, हिलो छ्याप्ने, खुइल्याउने र तेजोवध गर्दै घुमाइफिराई ओलीलाई होंच्याएर प्रचण्डलाई नै पवित्र देखाउने ध्याउन्नमा केन्द्रित हुन छाड्नु भएन l साँच्चै भन्नु पर्दा तत्कालीन एमालेका कुनै पनि कार्यकर्तालाई त्यस्तो निन्दनीय अबगाल स्वीकार्य पनि छैन र हजम पनि हुँदैन l

अर्कोतिर पार्टीको संस्थापन पक्षको मनबाट पेरिस डाँडाको बिदाइ समारोहले जन्माएका थुप्रै आशङ्काहरू पनि बढारिई सकेका थिएनन् l एक्कासि चुलिएको मनमुटाब र तिक्तता यत्ति छोटो समयमा सामसुम गराउन त्यति सजिलो पनि थिएन l

अहिले फेरि बुटवल पुगेर आगोमा घिउ थपिदिने काम प्रचण्ड स्वयंले गरिदिए l आ-आफ्नो बाटो लागेको हप्ता दिन पनि पुग्न नभ्याउँदै संस्थापन पक्षको आशङ्का निराधार रहेनछ भन्ने प्रस्टियो l उनीहरूको मनमा अतृप्त महत्त्वाकाङ्क्षा, नेतृत्व प्रति कुण्ठा र प्रतिसोध सिवाय अरू केही रहेनछ भन्ने सिद्ध भयो l

अर्कोतिर एक किसिमले हद म्याद नाघिसकेको अवस्थामा चाँडो भन्दा चाँडो पार्टीको महाधिवेशनमा गएर विधिवत् रूपमा विवाद समाधान गर्ने र नयाँ नेतृत्व चयन गर्ने दूरदर्शी निर्णय पनि कसै कसैको नजरमा असंवैधानिक भयो रे ! महाधिवेशन मार्फत आफ्ना असन्तुष्टि मुखरित गराउन के को गलफती र आनाकानी ? भन्नुहोस् त नेतागण, के गर्‍यो भने यहाँहरूको चित्त बुझ्छ ? तर तपाईँहरूको चित्त बुझाउन हामी प्रचण्डको पाउ पर्न कसै सक्दैनौँ l

छर्लङ्गै छ प्रधानमन्त्रीको लोकप्रियता देखेर जलेका ईर्ष्यालुहरूले आफ्नै पार्टीको एकमना सरकारलाई निरन्तर खुइल्याउने, खेद्ने र भड्खारोमा पार्ने काम गरिरहे l अरू त अरू कहीँ नभएको जात्रा हाँडी गाउँमा भने झैँ लाजै नमानी आफ्नै पार्टीको सरकारका विरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने धृष्टता समेत गरे l अनेक हर्कत र गुप्त षडयन्त्रका तानाबाना दिनदिनै हुन थालेपछि सरकार सामु आफ्नो कसी जाँच्न जनताको आँगनमा जानु बाहेक अर्को विकल्प बाँकी थिएन, सकारले आखिर ढिलोचाँड़ो त्यही मार्ग छनौट गर्‍यो l प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् विघटन गरी फ्रेस निर्वाचनको आव्हान भयो l तर कोहीकोहीलाई त्यो पनि रुचेन l दुई महिनाको अदालती प्रक्रिया पछि अदालतले अन्ततः संसद् पुनर्स्थापना गरिदियो l पक्ष बिपक्षमा रहेका सबैले न्यायालयको फैसलाको सम्मान गरे l तत्पश्चात् राजनीतिले नयाँ कोर्स समात्यो l

हर्ष र उन्मादले गदगद भएको त्यो माधव-प्रचण्ड समूहले आफ्नै नेतृत्वमा सरकार चलाउने हिम्मत गर्न सकेन l आफ्नो टाउकोमा कफन बेरेर खाई नखाई यिनीहरूलाई जिताउन दिनरात खट्ने कार्यकर्ताको पुकारलाई लात मारेर आफ्नै पार्टीका नेता ओलीको नेतृत्वमा रहेको हुँदा खाँदाको सरकार ढाल्न न्वारन देखिको बल लगाउँदै कहिले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनी दिन प-र्यो भन्दै निवेदन गर्न दौडिन थाले भने भने कहिले जसपाका सङ्घीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको पाउ परे l

समयको चालसँगै जब फाल्गुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) लाई न्याय दियो तब नेकपा एमाले र नेकपा माओवादी केन्दको एकतापछि गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको त्यही आदेशले भङ्ग हुन पुग्यो l समयको गर्भ भित्र पुगिसकेका दुइटा पार्टीहरूलाई अदालतले ब्युँताइदिए पछि नेकपा एमालेले २०७१ सालको पार्टी महाधिवेशनको  म्यान्डेटलाई तन्काउँदै नेतृत्वमा पकड जमाई रहनु सान्दर्भिक नहुने ठानी २०७८ मङ्सिर २ गते देखि ६ गते सम्म १० औँ महाधिवेशन आयोजना गर्ने निर्णय ग-र्यो l बिना महाधिवेशन आफ्नो पद नवीकरण गरेर नेतृत्वमा टाँसिइरहने प्रवृत्ति एमालेको संस्कार पनि होइन र त्यस्तो कुचेष्टा एमालेका कुनै पनि कार्यकर्तालाई पाच्य पनि हुँदैन l

पार्टीभित्रको सम्पूर्ण विवादको छिनोफानो गर्ने सबै भन्दा शक्तिशाली निकाय भनेको महाधिवेशन नै हो l कमरेड ओलीले सुझबुझकासाथ यो कार्यलाई महाधिवेशन प्रतिनिधिको जिम्मामा बुझाउने निर्णय गरे l यो निर्णय कसरी गलत, दुराशायी र अवैधानिक भयो ? यो त नेतृत्व विकाश, परिवर्तन र रूपान्तरणको सुन्दर पक्ष हो l

यस्तो लोकतान्त्रिक निर्णय पनि पाच्य नहुने कस्तो रोग लाग्यो कमरेड तपाईंहरुलाई ? एउटा निश्चित अवधिपछि पार्टीको महाधिवेशन गर्नु पनि कहाँको अधिनायकवाद, कहाँको फाँसीवाद अनि कहाँको हुकुमीतन्त्र ?

नेताहरूको दन्त बजान र आरोप प्रत्यारोपले गर्दा कार्यकर्ताको शिर निहुरिएको छ l कसैको मुख या काम गर्ने तौरतरिका मन परेन भनेर कसै माथि अन्खिट गर्नु शोभनीय हुँदैन l उसले गरेको कामको परिणामको आधारमा मात्र राम्रो या नराम्रो भन्नु न्यायोचित हुन्छ l

सामान्यतया एक पटक सांसद भइसकेपछि बाँचुन्जेल त्यो पद आँफुसंगै टाँसिई रहोस् भन्ने मनोवृत्ति र महाधिवेशनबाट निर्वाचित भइसकेपछि फेरि महाधिवेशनमा कहिल्यै जान नपरे हुन्थ्यो भन्ने भयपूर्ण प्रवृत्ति दुवै अतिवादी सोच हुन् l तिनलाई किमार्थ प्रशंसा गर्न सकिन्न l

प्रतिक्रिया दिनुहोस