बुधबार, ०२ असार २०७८

‘स्थानीय सडक सञ्जाल’ शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री

प्रदेशसँग नजोडिएका २ सय ८३ वटा स्थानीय तहलाई सडक सञ्जालसँग जोड्दै सरकार



काठमाडौं । सरकारले प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका २८३ वटा स्थानीय तहलाई जोड्न सडक सञ्जाल निर्माण गर्ने भएको छ । हालसम्म पक्कि सडकले प्रदेश राजधानीसँग नजोडिएका  स्थानीय तहलाई सडक सञ्जालले जोड्ने काम सुरु गरिन लागिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच अन गरी आज सो कार्यक्रमको शुभारम्भ गर्दै हुनुहुन्छ । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सञ्चालन गरिने सडक निर्माणको कार्य सातवटै प्रदेशमा एकसाथ सुरु हुँदैछ ।

प्रधानमन्त्रीले शुभारम्भ गर्नुभएपछि सडक सञ्जालले नजोडिएका स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित प्रदेशका मुख्यमन्त्रीले निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्ष यो कामका लागि  ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस