मंगलबार, १२ असोज २०७८

ज्यानमुद्दाका दोषीलाई बनाइयो मुख्यमन्त्रीको स्वकीय सचिव



कपिलवस्तु । युवा संघ नेता प्रचण्ड थैवलाई गोली हानेर हत्या घटनामा दोषी ठहर भएर सजाय भुक्तान गरेका सुजित भनेर चिनिने खरेन्द्र विक लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख स्वकीय सचिव नियुक्त भएका छन् । मुख्यमन्त्री केसीको स्वकीय सचिवमा सुजितलाई एक साता अगाडि नियुक्त गरिएको हो ।

१३ चैत ०६५ मा युवा संघ रुपन्देहीका जिल्ला सदस्य प्रचण्ड थैवलाई बुटवलमा गोली हानेको अभियोगमा दोषी ठहर गर्दै विकलाई सर्वस्वसहित आजीवन काराबासको सजाय सुनाइएको थियो । २३ असोज ०६९ मा जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीको एकल इजलासले सुजितको हत्यामा मुख्य दोषी ठहर गर्दै सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाएको थियो । उनी गत वर्षमात्र रिहा भएका थिए ।

तत्कालीन जनमुक्ति सेनाका लडाकु विक माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग ९वाईसिएल० रुपन्देहीका पूर्वअध्यक्ष हुन् । तनहुँको खैरेनीटारका स्थायी बासिन्दा सड्कबहादुर विकका छोरा खरेन्द्र सशस्त्र द्वन्द्वको समयमा सुजित विकको नामले परिचित थिए । उनकी श्रीमती दीपा विक माओवादीबाट लुम्बिनी प्रदेशसभा सदस्य छिन् ।

प्रतिक्रिया दिनुहोस