बिहिबार, १४ श्रावन २०७८

फुटको संघारमा जसपा, ओलीको लाइनमा पुगे राजेन्द्र महतो



काठमाडौं । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । जसपा भित्रको विवाद छताछुल्ल भएर बाहिर आएसँगै यो दल विभाजनको संघारमा पुगेको बताइन्छ । जसपाका शीर्ष नेताहरूभित्र मेल हुन नसकेपछि पार्टी फुटको नजिक पुगेको बताइएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईसँग मिलेर पूर्व राजपावाला नेताहरूको राजनीति सिध्याउन लागेपछि पार्टी फुटको नजिक पुगेको हो । अहिले उपेन्द्र र बाबुराम जसपामा हाबी भइरहेका छन् ।

यी दुई नेताहरूको निर्देशनमा पूर्व राजपाका नेताहरूलाई अवसरबाट बञ्चित गराउने गरिएको छ ।
दुइृ नेताको गतिविधिबाट रुष्ट बनेसँगै पूर्व राजपाका नेताहरुले नयाँ रणनीति तयार गरिरहेको खुलासा भएको छ ।
यसैबीच, पूर्वरापजाका नेताहरूलाई मात्रै बोलाएर राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले काठमाडौंमा वृहत विद्यार्थी भेलाको आयोजनासमेत गरेको छ ।

भेलामा उपेन्द्र र बाबुरामलाई बोलाइएको छैन । उनीहरूको तस्वीर पनि पोस्टरमा राखिएको छैन । भेलामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झालाई मात्रै बोलाइएको छ ।

उनीहरूलाई प्रमुख वक्ताका रुपमा राखिएको छ । केही समय अगाडि सिरहामा भएको कार्यक्रममा उपेन्द्रले रेणु यादवलाई प्रमुख अतिथि बनाएर राजकिशोर यादवलाई जुनियर नेताहरूभन्दा तल आसन ग्रहण गराएपछि राजकिशोरसहितका उनको समूहले कार्यक्रम बहिस्कार गरेको थियो ।

सिरहा घटनाबाट पूर्व राजपाका नेताहरू झस्किएका छन् । उपेन्द्रले पार्टीभित्र निरंकुशता लाद्दै आएका छन् । उपेन्द्रको त्यही व्यवहारले गर्दा उनको पार्टी पटक पटक फुट्ने गरेको छ । बाबुराम पनि उपेन्द्रकै लाइनमा छन् । उसोत बाबुराम पनि एउटा पार्टीमा लामो समय टिकेर बस्न सक्दैनन् ।

यसैबीच जसपाको एउटा समूह प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेशको तयारी गरेको बताईन्छ । यस विषयमा भित्रभित्रै गृहकार्य भइरहेको जसपा निकट स्रोतले बतायो ।

संसद विघटनसँगै नेता भट्टराई र महत्तो प्रधानमन्त्री विरुद्घ निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। त्यसैबेला ठाकुरले भने चुनावमा जान खुट्टा कमाउन नहुने भन्दै आइरहनुभएको छ ।

यही विषयले जसपाभित्र हंगामा मचिएपछि जसपाले शुक्रबार पदाधिकारीको बैठक बोलाएको छ ।
शुक्रबार दिउँसो १२ बजे पार्टी कार्यालयमा जसपाका दुई अध्यक्ष, एक संघीय परिषद् अध्यक्ष र दुई वरिष्ठ नेताहरुबीच छलफल गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने बताएको छ ।

गठन भएको तीन वर्षमै फुटेको थियो तमलोपा
२०६४ साल पुस १३ गते महन्थ ठाकुरको नेतृत्वमा हृदयेश त्रिपाठी, महेन्द्र राय यादव, बृजेशकुमार गुप्ता, रामचन्द्र कुशवाह, वृशेषचन्द्र लाल, अनिश अन्सारी, रामचन्द्र रायलगायतले तमलोपा गठन गरेका थिए।
सो दलले पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ११ सिट जितेको थियो । तर, सो पार्टी गठन भएको तीन वर्षमै विभाजित भयो। २०६७ पुस १६ गते महेन्द्र राय यादवले तमलोपा नेपाल नामको नयाँ पार्टी बनाए।
त्यसपछि तराईमा राजनीति गर्दै आएका ६ वटा दलहरुले २०७४ वैशाख ७ गते एकता गरेर राष्ट्रिय जनता पार्टी ९राजपा० बनाए। सो पार्टी बनाउन त्रिपाठीले नै महत्वपूर्ण भूमिका खेलेका थिए।
तर, वरियता लगायतका विषयमा असन्तुष्टि जनाउँदै त्रिपाठीले २०७४ को संघीय चुनावताका राजपा छाडे। त्यसपछि त्रिपाठीले बीके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले ‘स्वतन्त्र राजनीतिक समूह’ बनाए र २०७४ असोज १६ गते एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति गरे।
२०७७ वैशाख १० गते राजपा र उपेन्द्र–बाबुरामले नेतृत्व गरेको समाजवादी पार्टीबीच एकीकरण भएको हो। एकतापछि पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको हो। प्रधानमन्त्री ओलीले दल विभाजन खुकुलो पार्नेगरी वैशाख ८ गते अध्यादेश ल्याएपछि राजपा र समाजवादी पार्टीबीच एकता भएको थियो।

प्रतिक्रिया दिनुहोस