शनिबार, २९ जेठ २०७८

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त



बमबहादुर मिश्र र निलम ढुंगाना । फाेटाे : बमबहादुर मिश्रकाे फेसबुकबाट

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त हुनुभएको छ । राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर नियुक्त भएको हो

मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मिश्र र ढुंगानालाई नियुक्त गरेको हो ।

डेपुटि गभर्नरको लागि गभर्नरको सिफारिसमा अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर नियुक्त गर्ने प्रावधान रहेको छ।

डेपुटी गभर्नर हुन राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा कायम रहेको हुनुपर्ने व्यवस्था छ। हाल कार्यकारी निर्देशक रहनुभएकी ढु‌गाना सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुनुहुन्थ्यो भने मिश्र विदेशी विनिमय विभाग प्रमुख हुनुहुन्थ्यो।उहाँहरु दुवैले अधिकृत तृतीय पदबाट सेवा सुरु गर्नुभएको हो ।

राष्ट्र बैंकमा  रिक्त रहेको दुई डेपुटी गभर्नर पदका लागि ब्यापक लबिङ हुँदै आएको थियो । गत फागुन १८ गते डेपुटी गर्भनरका रुपमा रहेका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि सो पद खाली रहेको थियो ।डेपुटी गभर्नरको लागि निलम र बोम बहादुरसहित कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ, डा गुणाकर भट्ट, देव कुमार ढकाल भुवन कँडेल, नेफिल मटाङ्गी मास्केलगायतको नाम चर्चामा थियो ।

प्रतिक्रिया दिनुहोस