सोमबार, ०१ कार्तिक २०७८

सर्वदलीय बैठकको निष्कर्ष : ‘एमाले संवाद र वार्ताबाट भाग्यो’



काठमाडौं । सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको हो ।

‘यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन’, बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आज प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा पनि एमाले प्रतिनिधि सहभागी भएनन् । हामीलाई लागेको छ, उहाँहरू संवाद र वार्ताबाट भागिरहनु भएको छ ।’

संसदमा भइरहेको गतिरोध अन्त्यका लागि एमाले पनि जिम्मेवार बन्नुपर्ने र यसका लागि वार्ता र संवादमा आउन पनि बैठकले एमालेलाई आह्वान गरेको छ । एमालेको अवरोधका कारण संसद बैठकमा विभिन्न विधेयक पेस हुन नपाएको कार्कीले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरिने बताएका थिए । ‘उहाँहरू आज आउनुभएन तर पनि म कुरा गर्छु । एमालेसँग निरन्तर छलफल गरेर निकास खोज्छौं’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै कार्कीले भने ।

राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहमतिका लागि अग्रसरता लिन प्रधानमन्त्रीले अग्रसरता लिनुपर्यो भनी आग्रह गरेकैले बैठक बोलाइएको पनि कार्कीले जानकारी दिए ।

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलका नेताहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस