मंगलबार, १२ असोज २०७८

संखुवासभा हत्याकाण्ड- भतिजा पक्राउ,यस्तो छ हत्याराको बयान



काठमाडौं । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी कार्की परिवारका नातामा भतिजा पर्छन् ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

प्रहरीले लोकबहादुरलाई शुक्रबार पक्राउ गरेको हो । मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको एक उच्च अधिकृतले जानकारी दिए । उनले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको बताइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बराबद भएपछि स्थानीय लोकबहादुर कार्कीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो।

अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार उनी अन्दाजी २६ वर्षीय हुन्।

रगत लागेको कपडा र उक्त हतियारलाई प्रहरीले उम्लिङ घटनाको महत्वपूर्ण ‘क्लु’ को रूपमा लिएको ती प्रहरी अधिकारी बताउँछन्।

हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाई’ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो ।

‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेछ’ एक अनुसन्धान अधिकृतले  भने, ‘त्यही रिसले हत्या गरेछन् ।’ उनी मानिसक रोगीसमेत भएको प्रहरी बताउँछ । स्रोत भन्छ, ‘एक वर्ष अघिदेखि औषधि खाइरहेको भेटिएको छ ।’

प्रतिक्रिया दिनुहोस