सोमबार, ११ श्रावन २०७८

सिन्धुपाल्चोकको दुखमा अभिनेत्री श्वेताको साथ



काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रावती नदीमा आएको भिषण बाढी बस्तीमा पस्दा ठूलो जनधनको क्षति भएको छ ।

बाढीका कारण हेलम्बुदेखि मेलम्चीभर झन्डै डेढ सय घर डुबानमा परेका छन् । केहीको ज्यान गुमेको छ भने केही अलपत्र परेका छन् । कति बेघर भएका छन् । बाढीले मेलम्ची करिडोर पूरै तहसनहस भएपछि देश तथा विदेशबाट सहयोग जुट्न थालेको छ ।

अभिनेत्री श्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि सहयोग अभियान सुरु गरेकी छन् । उनले सहयोगका लागि अपिल गरेपछि केही महिनादेखि कोरोनाका विरामीलाई निःशुल्क अक्सिजन र भोकाहरुलाई खाना बाँडिरहेको संस्था हाम्रो टिम नेपालले श्वेताको अभियानमा सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ ।

त्यस्तै, मेलम्ची बासिन्दाको पीडामा मलहम लगाउन हिमालय एयरलाइन्सका विजय श्रेष्ठले १० हजार र रमेश कुमार सापकोटाले २५ हजार सहयोग गरेको श्वेताले फेसबुकमार्फत् जानकारी दिएकी छन् । उनका अनुसार, यो रकमले खाद्य सामाग्री खरिद गरिनेछ । शुक्रवार (भोली) राहत लिएर मेलम्ची प्रस्थान गर्ने तयारीमा रहेकी उनले सहयोग गर्न चाहनेलाई सम्पर्क गर्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस