सोमबार, ११ श्रावन २०७८

बलिउड अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा निधन



एजेन्सी । बलिउड अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको निधन आज अर्थात् शुक्रबार बिहान हृदयघातबाट भएको पुष्टि भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सुरेखा केही महिनादेखि बिरामी थिइन् । गत वर्ष उनलाई मस्तिष्कघात पनि भएको थियो ।

सुरेखाले सन् १९७८ मा ‘किस्सा कुर्सीका’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले ‘तमस’ (सन् १९८८) मम्मो (सन् १९९५) र ‘बधाई हो’ (सन् २०१८) बाट सहायक अभिनेत्रीका लागि राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् । समकालीन कलाकारझैं सुरेखा पनि रंगमञ्चबाट चलचित्रमा अभिनय गर्न पुगेकी थिइन् । ७०, ८० र ९० को दशकमा उनी निकै समानान्तर चलचित्रमा देखिएकी थिइन् ।

उनी अभिनित चलचित्र ‘किस्सा कुर्सीका’ सन् १९७८ मा इन्दिरा गान्धीमाथि बनाइएको थियो । अमृत नाहटाको निर्देशन रहेको उक्त चलचित्रमाथि सञ्जय गान्धीले संकटकालीन समय (१९७५–७७) मा प्रतिबन्ध लगाएका थिए । पछि मात्रै उक्त चलचित्र रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस