बिहिबार, १४ श्रावन २०७८

‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना



बागलुङ । दिवङ्गत टीकाराम खरेलका सम्मानमा गलकोट नगरपालिका–९ मल्म छिसकी ९४ वर्षीया धनकला र सन्ततिले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेका छन् ।

जिल्लामा सक्रिय एक पत्रकारलाई वर्षेनि पुरस्कृत गर्ने उद्देश्यले शाखामा रु एक लाख बराबरको पुरस्कार कोष खडा गरिएको खरेलका कान्छा छोरा मित्र खरेलले जानकारी दिनुभयो । गलकोट पत्रकार समाजका अध्यक्षसमेत रहनुभएका उहाँले कोषबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिने बताउनुभयो ।

“आमाले ज्येष्ठ नागरिक भत्ताबापत पाएको रकम पुरस्कार कोषमा जम्मा गर्नुभएको छ, परिवारका तर्फबाट पनि सहयोग थपिएको छ”, मित्रले भन्नुभयो, “दिवङ्गत बुबाको पनि सम्मान होस् र पुरस्कारमार्फत पत्रकारिता क्षेत्रको प्रवद्र्धनमा पनि योगदान पुगोस् भन्ने सोचेर कोष स्थापना गरेका हौँ ।”

धनकला पुरस्कारको संरक्षक, छोराहरु मित्र, लीलाधर, बुहारी सीता, देवकी, छोरी मनकुमारी र मनरुपा सापकोटा कोषको संस्थापकका रुपमा रहेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले अगग्लै कार्यविधि बनाएर पुरस्कार कोष सञ्चालन तथा व्यवस्थापन गरिने बताउनुभयो ।

“महासङ्घका योसहित चारवटा पुरस्कार कोष छन्, सबै पुरस्कार फरक–फरक विधामा प्रदान गरिन्छ”, उहाँले भन्नुभयो, “पत्रकारितामा ऊर्जाशील र फरक ढङ्गले काम गरिरहेका नयाँ पुस्ताका पत्रकारलाई प्रोत्साहित गर्ने गरी यो पुरस्कार दिने सोच छ ।” अध्यक्ष शिरीषले पत्रकारिता पुरस्कार स्थापना गरेर खरेल परिवारले अनुकरणीय कार्य गरेको बताउनुभयो । कोषको रकम संरक्षक धनकला र उहाँका परिवारका सदस्यले मङ्गलबार महासङ्घका शाखा अध्यक्ष शिरीषलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस