बुधबार, ०२ असार २०७८

तयारी नपुगेपछि एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बैठकका लागि पार्टीको आन्तरिक तयारी नपुगेको र थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक स्थगित भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।

एमाले स्थायी कमिटी बैठक बुधबारका लागि पनि तय गरिएको थियो । तर गृहकार्य नपुगेको भन्दै आज बिहीबार ४ बजेका लागि सारिएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको हाे ।

स्थायी कमिटी सदस्य नेम्वाङ्काअनुसार नेताहरुको व्यस्तता र गृहकार्यको तयारी नपुग्दा बैठक स्थगित भएको छ । अब कहिले बस्नेबारे पनि टुङ्गो नलागेको बताउनुहुँदै नेता नेम्वाङले भन्नुभयो, “बैठक अनिश्चित्कालसम्मका लागि स्थगित भएको छ, तयारी पूरा भएपछि बस्नेछ ।”

पार्टीमा असन्तुष्ट रहनुभएका नेता माधवकुमार नेपाल पक्षका नेताहरुसँग छलफल र वार्ता जारी रहेकाले पार्टी एकतालाई कायम गर्नलाई पनि बैठक केही समयका लागि स्थगित गरिएको नेताहरुको बुझाई छ । आज नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भर्चुवल माध्यममा जारी छ । सो बैठकमा पार्टी एकताका लागि वार्ता गरिरहनुभएका दोस्रो पुस्ताका नेताहरुले पार्टी एकताको आशा अझै समाप्त भएको ठान्न नहुने सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस