शुक्रबार, ०५ कार्तिक २०७८

ऊर्जा मन्त्रीद्वारा संखुवासभामा निर्माणाधीन जलविद्युत आयोजनाहरूको स्थलगत अनुगमन



संखुवासभा । ऊर्जा मन्त्री पम्फा भुसालले संखुवासभामा निर्माणाधीन जलविद्युत आयोजनाहरूको स्थलगत अनुगमन गर्नु भएको छ ।

बुधवार हेलिकप्टरबाट संखुवासभा आइपुग्नु भएको भुसालले नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत आयोजना, निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना र २ सय २० केभी प्रसारण लाइनको कोसी कोरिडोरको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो ।

मन्त्री भुसालसहितको टोली माथिल्लो अरुणको ड्याम साइड र पावर हाउस स्थल पुगेर फर्किएको थियो । अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थलमा सुरुङ निर्माण स्थलको स्थलगत अनुगमन गर्नुभयो ।

उहाँले अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा चलिरहेको प्रतिक्रिया दिनुभयो ।एसजेभीएनका सिइओ अरुण धिमालले मन्त्री भुसाललाई हालसम्म ड्याम साइड र पावर हाउसमा भएको कामको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले कोरोना महामारीमा पनि कामको गति नघटेको जानकारी दिनुभयो ।

कठिनाइ हुँदाहुँदै तीन वर्षमा ४० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको धिमालले जानकारी दिनुभयो ।

मन्त्री भुसालले तुम्लिङटारमा निर्माणाधीन २ सय २० केभीको कोसी कोरिडोरको पनि स्थलगत निरीक्षण गर्नुभयो ।

निरीक्षण टोलीमा ऊर्जा मन्त्रीसँगै ऊर्जा सचिव देवेन्द्र कार्की , अर्थ सचिव मधु मरासिनी, नेपाल विद्युत् प्राधिकरणका सिइओ कुलमान घिसिङ लगायतका सरकारी अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस