अभिनेत्रीलाई बलात्कारको धम्की दिने मन्त्रीले दिए राजीनामा



काठमाडौं। बंगलादेशकी प्रसिद्ध अभिनेत्रीलाई फोनमा बलात्कारको धम्की दिने देशका सूचना तथा प्रसारण मन्त्री मुराद हसनले मंगलबार पदबाट राजीनामा दिएका छन् । मुरादमाथि हालै २ आरोप लागेका थिए । दुवै आरोप महिलासँग अभद्र व्यवहार गरेका थिए । उनले अभिनेत्री माहिया माहीलाई फोनमा बलात्कारको धम्की दिएका थिए । त्यसपछि पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाकी नातिनीको बारेमा सार्वजनिक रुपमा अश्लील टिप्पणी गरेका थिए ।

ढाका ट्रिब्युनका अनुसार पहिलेदेखि नै विवादित रहेका मन्त्री मुरादसँग प्रधानमन्त्री शेख हसिला निकै आक्रोशित थिइन् । उनले सोमबार मुरादलाई राजीनामा दिन ठाडो आदेश दिएकी थिइन् । रिपोर्टका अनुसार प्रधानमन्त्री शेख हसिनाले मन्त्रिपरिषद बैठकमा प्रस्ट रुपमा मन्त्रीहरुको अभद्रता कुनै पनि अवस्थामा सहन नसकिने बताएकी थिइन् ।

रिपोर्टका अनुसार केही दिनअघि मुरादले अभिनेत्री माहिया माहीसँग फोनमा कुरा गरेका थिए । यस क्रममा अभिनेत्रीको साथमा एक अभिनेता पनि थिए । कुरा गर्दै गर्दा मुराद माहीसँग रिसाए । त्यसपछि उनले अभद्र व्यवहार गर्न थाले । माहीले उनलाई रोक्न खोज्दा उनले बलात्कारको धम्की दिए । उनको यो अडियो सामाजिक संजालमा लिक भयो । पछि मुरादले यो अडियो आफ्नो आवाज नभएको दावी गरेका थिए । अभिनेत्रीले अडियो सही भएको र आवाज पनि आफ्नो र मुरादकै भएको बताएपछि मन्त्रीको वास्तविकता छताछुल्ल भएको थियो ।

त्यसको केही दिनपछि मुरादले देशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाकी नातिनीबारे अश्लील र अपमानजनक टिप्पणी गरेका थिए । जियाकी नातिनी लण्डनमा बस्छिन् । उनले मुरादका केही पुराना बयानलाई लिएर उनको आलोचना गरेकी थिइन् । यही रिसमा मुरादले उनीबारे अश्लील टिप्पणी गरेका थिए । मुरादको राजीनामापछि अभिनेत्री माहियाले भनेकी छिन् ‘यो निकै जरुरी थियो किनकि यस किसिमका नेताहरुका कारण देशको छवि खराब हुन्छ । उनीसँग यही हुनुपर्ने थियो जे भयो ।’

प्रतिक्रिया दिनुहोस