एमालेमा नयाँ सोच र कार्यशैली आवश्यक भइसकेको छ : भट्टराई



निर्मल भट्टराई नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ । पार्टीको सहकारी तथा गरिबी निवारण विभागको उप-प्रमुखको जिम्मेवारी सम्हालिरहनु भएका भट्टराई भक्तपुर जिल्लाका पुराना स्थापित नेता समेत हुनुहुन्छ । स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको परिणाम र एमालेको भावी योजनाका बारेमा उहाँसंग लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

यसपालिको स्थानीय तहको निर्वाचनमा तपाईंको पार्टी एमालेले सोचे जति परिणाम ल्याउन सकेन नि ? यसका पछाडि के-के कारण देख्नुहुन्छ ?

पहिलो कुरा त हाम्रो पार्टीविरूद्ध नेपाली काङ्‌ग्रेसको नेतृत्वको पाँच दलीय गठबन्धन राष्ट्रव्यापी तालमेल गरेर चुनावमा होमिएको थियो । यसले विगतमा नेपाली काङ्‌ग्रेस वा अन्य दलसंग एमालेको थोरै मतान्तरको प्रतिस्पर्धा रहेका ठाउँमा स्वभाविक असर पार्‍यो नै । मतान्तर बढी फरक भए पनि त्रिपक्षीय मत सन्तुलन भएका ठाउँमा पनि अरू सबैको मत एमालेविरूद्ध खप्टिंदा ती ठाउँमा एमाले पछि पर्नु स्वभाविक हो ।

दोश्रो कुरा, हामी मार्क्सवादीहरू के विश्वास गर्छौं भने कुनै परिणामको प्रमुख कारण आन्तरिक हुन्छ, बाह्य हुन्न । यसको मतलव के हो भने एमाले यो चुनावी प्रतिस्पर्धाको लागि सम्पूर्ण रूपमा तयार भएको स्थिति थिएन । पार्टी एकता र विभाजनले एमालेको संगठनमा अस्थिरता, अन्योल र केही हदसम्म अराजकता समेत थपेको थियो । वडा सदस्यदेखि महानगरका मेयर उम्मेद्वार चयनमा विभिन्न किसिमका समस्या देखा परे । धेरै ठाउँमा पार्टीले लोकप्रिय ठानेका उम्मेद्वारलाई जनताले स्वीकारेको अवस्था रहेन । विभिन्न तहमा रहेका पार्टीभित्रका असन्तुष्टिलाई समयमा चिन्न र व्यवस्थापन गर्न नसकेर पनि एमालेले हार्दै नहार्ने धेरै ठाउँमा हार व्यहोर्नु परेको छ । समग्रमा जनमतमा सबैभन्दा ठूलो दल कायम रहे पनि विगतमा भन्दा झण्डै सय सीट खुम्चनु परेको छ । यसको समग्र कारणहरूको वस्तुनिष्ट समिक्षा गरेर एमाले अब अगाडि बढ्छ ।

एमालेले अपेक्षित परिणाम ल्याउन नसक्नुमा एमाले नेतृत्वको कुनै दोष छैन ? के पी ओलीको कुनै दोष छैन ?

तपाईंले राम्रो प्रश्न गर्नुभो । पार्टी भनेको नीति, मूल नेतृत्व, नेतापुञ्ज, कार्यकर्ता र मतदाताहरूको समुच्चय हो । पार्टीले प्राप्त गर्ने जस अपजस, विजय पराजय सबैमा सबभन्दा ठूलो भागिदार मूल नेतृत्व नै हुने गर्छ । तर भागिदार सबै हुन्छन् र हुनुपर्छ । पार्टी अध्यक्ष के पी शर्मा ओली र केन्द्रिय तहमा रहेका हामी सबै यो परिणामका लागि प्रमुख रूपमा जिम्मेवार छौं भन्न मलाई कुनै हिच्किटाहट हुदैन ।

काठमाण्डौ, धरान, धनगढीजस्ता प्रमुख सहरमा स्वतन्त्र उम्मेद्वारको वर्चश्व देखिनुलाई यहाँले कसरी हेर्नुभएको छ ? यो पार्टीहरूका लागि चुनौतीको विषय होइन ?

निश्चय नै, यो पार्टीहरूका लागि चुनौतीको विषय हो । यो ट्रेण्डले के देखाउँछ भने नेपालका प्रमुख राजनीतिक पार्टीहरू आम मतदाताको र खासगरी नयाँ पुस्ताका बदलिंदा आकाङ्‌क्षालाई सम्बोधन गर्न सकिरहेका छैनन् । पार्टीहरू पछिपछि र मतदाताहरू अघिअघिजस्तो देखिएको छ । यसबाट देशमा कार्यरत साना ठूला सबै पार्टीहरूमा नयाँ सोच र कार्यशैली आवश्यक भइसकेको प्रष्ट सङ्‌केत मिल्छ । अब सबै पार्टीहरूले आफ्ना पुराना डम्फू बजाउन छोड्नु पर्छ । उनीहरूले नयाँ-नयाँ अजेण्डा र कार्यशैलीको विकास गर्नुपर्छ । एमालेले त झन अविलम्ब गर्नुपर्छ । युवामैत्री अजेण्डा र कार्यक्रम नयाँ ढँगले डिजाइन गर्नु पर्छ ।

सत्ता गठबन्धन त आगामी आम निर्वाचनसम्म तालमेल गर्ने भन्दैछ । त्यसो हुँदा एमाले पत्तासाफ हुन के बेर ?

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा अभिव्यक्तमतलाई तपाईंले तथ्यगत विश्लेषण गर्नुभयो भने एमाले आफ्नो जनमत घटेर पराजित भएको देख्नुहुन्न । जनमतको हिसाबले एमाले नै अहिले पनि देशको सबभन्दा ठूलो पार्टी हो । एमालेको त्यो सामर्थ्यलाई जोसुकै मिले पनि हटाउन र घटाउन सक्दैनन् । बरू यो विजातीय सत्ता गठबन्धनप्रति विस्तारै जनता वाक्क हुन्छन् र त्यसको लाभ एमालेले लिन्छ । सर्प, विच्छी र भ्यागुत्ताको लामो गठजोड होला भन्ने अनुमान अहिले गर्नु हतार हुन्छ ।

अब तपाईंको गृहजिल्ला भक्तपुरतिर लागौं । तपाईंहरूले भक्तपुरमा आफ्नो विगतको उपलब्धिलाई जोगाउन किन सक्नुभएन ?

हो, हामीले विगतमा भक्तपुरका तीन पालिका-सूर्यविनायक, मध्यपुर र चाँगुनारायणमा विजय हासिल गरेका थियौं । विकास निर्माण र जनहितमा हाम्रा जनप्रतिनिधिले राम्रै काम गरे पनि जनताका सबै अपेक्षा पूरा गर्ने अवस्था रहेन । हाम्रा तीन तहका जनप्रतिनिधिबीच राम्रो तालमेल र समन्वय हुन नसक्दा हामीले सञ्चालन गरेका विकासका कामहरूलाई जनतासंग राम्ररी जोड्न सकिएन । हनुमन्ते कोरिडोरलगायतका कतिपय ठूला परियोजनाबारे हाम्रै जनप्रतिनिधिहरूबीच तिक्ततापूर्ण विमति रह्यो । सङ्‌घीय सांसद, प्रदेश सांसद, नगर प्रमुख, वडाध्यक्ष र वडा सदस्यको काममा ओभरल्यापिङ भयो । कसले कुन काम गर्ने भन्ने प्रष्ट डिमार्केसन भएन । एउटा बाटो खोल्न सबै जाने । एउटा धारो खोल्न सबैको भीड लाग्ने । व्यक्तिगत रूपमा जस लिन मरिहत्ते गर्ने !

तपाईंको पार्टीका धेरै केन्द्रिय सदस्यहरू स्थानीय तहको निर्वाचनमा प्रत्यासी बने । तर तपाईंको नाम त कतै सुनिएन, किन ?

यो विषयमा मेरा केही फरक मान्यताहरू छन् । स्थानीय तहका विभिन्न पदमा उम्मेद्वार बन्ने पहिलो हक पार्टीका स्थानीय तहका कार्यकर्ताको हो । त्यसका लागि पार्टीले उनीहरूलाई सबल बनाउनु पर्छ । पार्टीका केन्द्रिय नेताहरूले स्थानीय तहमा उम्मेद्वार बन्न आफैं पौंठेजोरी खेल्नुहुन्न भन्ने मेरो प्रष्ट मान्यता छ । म गएको पार्टीको दशौं महाधिवेशनमा प्रथम सयजनाको सूचिमा निर्वाचित केन्द्रिय सदस्य भएको नाताले मैले पालिकाका कुनै पदमा दावी गर्न सुहाउँदैनथ्यो र मैले गरिँन । पार्टीका केन्द्रिय नेताले देशकै नीति निर्माणमा ध्यान दिने र पार्टीका स्थानीय तहका नेता- कार्यकर्ताले स्थानीय तहमा गइ ती नीतिको कार्यान्वयन गर्ने परिपाटी बसाल्नु पर्छ भन्ने पक्षमा छु म । यसो गर्दा वर्तमानमा देखिएको ओभरल्यापिङको समस्या पनि हल गर्न सकिन्छ र पार्टीभित्र पदको लागि हुने अस्वस्थ्य प्रतिस्पर्धा पनि कम हुन्छ भन्ने मेरो बुझाइ हो ।

त्यसो भए तपाईं आगामी आम निर्वाचनमा चुनाव लड्ने योजनामा हुनुहुन्छ, हो ?

पार्टी व्यवस्थामा व्यक्तिको योजना पार्टीको योजनाको अधिनस्थ हुन्छ । मलाई पार्टीले जे जिम्मा दिन्छ, मैले त्यही गर्नुपर्छ । यसमा मैले भन्ने कुरा केसम्म हो भने भक्तपुरको पार्टी निर्माण र जनपरिचालनमा लामो र कष्टसाध्य संघर्ष गरेको हिसाबले, मेरो अध्ययन र अनुभवको हिसाबले र देश र पार्टीप्रति मैले प्रमाणित गरेको इमान्दारीको हिसाबले तपाईंले सङ्केत गरेको पदका लागि म एक योग्यतम व्यक्ति हुँ । मेरो दावी त्यही हो ।

एउटा अचम्मको कुरा, सबै नेताले आफूमात्र असली पेडा भएको दावी गर्छन् तर व्यवहारमा सबै एउटै ड्याङका मुलाजस्तो लाग्छ । तपाईंसंग अरूभन्दा के कति कारणले भिन्न हुनुहुन्छ ?

यो प्रश्नको लागि तपाईंलाई धेरै धन्यवाद । म अरूभन्दा धेरै अर्थमा भिन्न छु । मैले नेपाल र नेपालीको अहित हुने गरी कोही कसै संग  साँठगाँठगरिन। मैले कुनै विदेशी नेता, विशेष दूतवास राजदूतसंग कुनै पद बार्गेनिङ्ग गर्ने र खुल्लामञ्च वा अरु मञ्चबाट चर्को राष्टवादी भाषण गर्ने दोहोरो चरित्र कहिल्यै प्रदर्शन गरिन। मैले कुनै वादविशेष, गूटविशेष, क्षेत्रविशेष, लिङ्गविशेष, जातविशेष, वर्गविशेषको अन्धपक्षपोषण गरिन। मैले कुनै नेता रिझाउन उसले उत्सर्जन गरेको अपानवायुको ‘बास्ना” को चर्चा गरिन। कुनै नेताको देवत्वकरण गरिन। मैले कुनै धर्म, सम्प्रदाय,भाषा र क्षेत्र विशेषको आडमा आफ्नो राजनीतिको रोटी सेक्ने प्रयत्न गरिन। मैले राजनीतिलाई कमाउ धन्दाको रुपमाबुझिन। राजनीति त्याग,वलिदान र जनसेवा हो भन्ने जीवन पर्यन्त बुझि रहनेछु। मैले डनहरु जम्मा गरेर, हुलहुज्जत गरेर आफ्नो राजनीतिक प्रभाव जमाउने प्रयत्न गरिन। भन्सार,मालपोत र यातायत कार्यालयमा गुन्डा सेटिङ्ग गरेर अकुत सम्पत्ति आर्जन गरिन। यसो गरेर समाज परिर्वतन हुन्छ भन्ने विस्वास जीवन भर ममा रहने छैन।करोडौं खर्च गरेर, पैसाले मत किनेर चुनाव जितेका सांसदले प्रधानमन्त्री वा मन्त्री जे भएपनि जनताको सेवा गर्न सक्दैन। उसको ध्यान त्यही पैसा बटुल्नमा केन्द्रित हुन्छ भन्ने मेरो अटुट विस्वास छ।जीवन भर यसमा कुनै फेर बदल नआउने ब्यहोरासमेत म जाहेर गर्दछु।  मैले राजनीतिको नाउँमा निर्दोष जनता बोकेर गुडिरहेको गाडीमा सबै जनता स्वाहा हुने गरीआगो लगाइन। पढाउदै गरेको शिक्षकको कक्षाबाट थुतेर अबोध विद्यार्थीको सामुन्ने हत्या गरिन। फरक मत राखे वा पतपत्रकारलाई जिउँदै जलाईन, गाडिन।त्यस्तो काम गर्न कोही कसैलाई उकासिन। मैले राजनीतिक क्षेत्रका गणेशहरुको कहिल्यै पुजा गरिन बरु कर्मवीर ‘कुमार”हरुको पुजा, प्रशंसा र प्रोत्साहन गरिरहें। मैले नेतालाई शासक र जनतालाईअवाञ्छित भीडको रुपमा कहिल्यै हेरिन। नेता सेवक र जनता मालिक बनाउने अभियानमा दिल चस्पी दिइरहें, लागिरहें। मैले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विरुद्धमा कुनै गतिविधि गरिन। मैले राजकीय पदमा रहँदा कुनै किसिमको भ्रष्टाचार,  कमिसन प्राप्ति वा अन्य कुनै किसिमको द्रव्यमोह देखाइन। मैले आफ्नो जीवन सधैं सरल, पारदर्शी र जनताले सजिलै पढ्न सक्ने बनाइ रहें।राजनीति गर्नेक्रममा मैले मुखमा कालोपट्टी बाँधेर, बन्दुकको कुन्दा देखाएरर मध्यरातमा टेलिफोनमा धम्क्याएर चन्दा असुली गरिन। मैले कहिल्यै निषेधको राजनीति गरिन। आफूभन्दा फरक विचार राख्ने व्यक्तिको सम्मान गरिरहें। मैले नातावाद कृपावादको पक्षपोषण गरिन। ‘हाम्रा”लाई भन्दा’राम्रा”लाई अधि बढाउन प्रयत्न गरिरहें।जनतालाई चुनावको बेला सम्झने र अर्को चुनावसम्म विर्सने परम्परा मैले आत्मसात गर्न सकिन। अब भन्नुस् म योभन्दा कति फरक हुनुपर्‍यो ?

 

 

प्रतिक्रिया दिनुहोस